नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले पार्टीको अबको सम्पूर्ण ध्यान दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रित गर्ने निर्णयसहित महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिलाई २१ सदस्यबाट बढाएर २३ सदस्यीय बनाइएको छ । पार्टीका नेता रामबहादुर थापा ‘बादल’ संयोजक रहेको सो समितिमा स्थायी कमिटीका सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ थपिनुभएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । मूल व्यवस्थापन समिति मातहत प्रतिनिधि व्यवस्थापन, खाद्यान्न, यातायात, मञ्च व्यवस्थापन, प्रचार प्रसारलगायत अन्य उपसमिति पनि गठन गरिएको छ ।
बैठकको समापनमा अध्यक्ष केपी शर्मा ओलीले गत असोजमा सम्पन्न विधान महाधिवेशनले नीति र विधिमा मतैक्यता देखिएको र पालिकास्तरका अधिवेशनमा भएको समझदारीले पार्टीलाई नयाँ गतिमा लगेको सन्देश मिलेकाले दशौँ महाधिवेशनमा पनि सोही प्रकारको सन्देश दिन आग्रह गर्नुभएको थियो । एमालेको अर्काे केन्द्रीय कमिटीको बैठक महाधिवेशनको अघिल्लो दिन मङ्सिर ९ गते चितवनको सौराहमा बस्नेछ ।
यो पनि – पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छ ः मन्त्री रिजाल
रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । धनकुटामा आज नेपाली कांग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीको आसन्न महाधिवेशनमा सकेसम्म सहमति गर्नुपर्नेमा जोड दिँदै सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट कुशल नेतृत्व छनोट गर्नुपर्ने बताउनुभयो ।
कांग्रेसले मुलुकको नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्नुपर्नेमा मन्त्री रिजालको जोड थियो । उहाँले पार्टीभित्र नेतृत्वको हिसाबले नयाँ पालुवा नपलाउँदा देशभर नेता कार्यकर्तामा चिन्ता बढेको भन्दै अबको चुनावबाट सबै नेता कार्यकर्ताको सम्मान गर्न र पार्टीलाई सबल बनाउने गरी वातावरण बनाउनुपर्ने बताउनुभयो ।



प्रतिक्रिया