जोर्डनको गार्मेन्ट क्षेत्रमा नेपाली पठाउने प्रक्रिया सुरु

जोर्डनको गार्मेन्ट क्षेत्रमा नेपाली पठाउने प्रक्रिया सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले जोर्डनको गार्मेन्ट क्षेत्रमा नेपाली श्रमिक पठाउने प्रक्रिया अगाडि बढाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार इजिप्टको कायरोस्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले प्रतिमहिना नेपाली कामदारले प्राप्त गर्ने तलब र अन्य सुविधाबापतको रकम अमेरिकी डलर ३०० भन्दा घटी नहुने सुनिश्चितता भएको रोजगारदाता कम्पनीको ग्यारेन्टी पत्रसमेत अतिरिक्त कागजात भएमा मात्र मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको छ ।

बिहीबारको परराष्ट्र मन्त्रिस्तरीयबाट उक्त प्रक्रिया शुरु भएको हो । कायरोस्थित दूतावासबाट मागपत्र प्रमाणीकरणको निर्णय भएको जानकारी परराष्ट्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पठाएको छ । यसअघि श्रम स्वीकृति लिई जोर्डन गएका र हाल त्यहाँ कार्यरत नेपालीले प्रतिमहिना तलब तथा अन्य सुविधाबापत मासिक अमेरिकी डलर ३०० भन्दा बढी नै प्राप्त गरिरहेका छन् ।

जोर्डनमा कार्यरत केही नेपाली श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नपाएको भन्दै कायरोस्थित दूतावासले मागपत्र प्रमाणीकरण गर्न छाडेको थियो । मागपत्र प्रमाणीकरण रोकिँदा श्रम मन्त्रालयअन्तर्गतको सुरक्षित आप्रवासन केन्द्रबाट तालीम लिएका नेपाली जोर्डन जान सकेका थिएनन् । श्रम मन्त्रालयले जोर्डनमा नेपाली श्रमिकको माग बढेको, श्रमिक भर्ना प्रक्रिया मर्यादित रहेको र जोर्डन नेपाली श्रमिकका लागि सुरक्षित गन्तव्यका रुपमा रहेकाले मागपत्र प्रमाणीकरण गर्ने निर्णय कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयललाई पत्र लेखेको थियो ।

यो पनि – युवाको मनोविज्ञान बुझेर योजना तर्जुमा गर्न मन्त्री गहतराजको निर्देशन

युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय युवा परिषद्लाई युवाको केन्द्रका रुपमा स्थापित गर्न निर्देशन दिनुभएको छ । आज परिषद्को अनुगमनका क्रममा उहाँले ४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको परिषद्ले युवाको मनोविज्ञान बुझेर योजना तर्जुमा गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दिर्घकालीन योजनाको खाका तयार गर्नुहोस् ।” स्वदेशमा रोजगारी अवसर नहुँदा युवाहरु विदेशिने गरेकातर्फ इंगित गर्दै मन्त्री गहतराजले युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न नयाँ ढंगले सोच्नुपर्ने बताउनुभयो । “युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस्”, उहाँले भन्नुभयो, “स्वदेशमै विभिन्न क्षेत्रमा सफल कर्मशील युवाबाट उत्प्रेरित हुने गरी अन्य युवालाई समेत स्वदेशमै परिश्रम गर्ने खालका योजनाहरु अगाडि बढाउनुहोस् ।”

सो अवसरमा मन्त्रालयका निमित्त सचिव कमलप्रसाद पोखरेल र सहसचिव विष्णुृराज ढकालले विभिन्न कारणले रोकिएको युवा लक्षित कार्यक्रम मन्त्रीको नेतृत्वमा अघि बढ्ने बताउनुभयो । कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुंगानाले कार्यालयको प्रगति विवरण पेश गर्नुभएको थियो ।