अफगानिस्तानबाट ९४० नेपालीको उद्धार, सुरक्षा जोखिमबाट सबै नेपाली मुक्त

अफगानिस्तानबाट ९४० नेपालीको उद्धार, सुरक्षा जोखिमबाट सबै नेपाली मुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ कात्तिक (रासस) : अफगानिस्तानको शासन व्यवस्था तालिवानले सम्हालेपछि उद्धारको प्रतीक्षामा रहेका ३२ नेपालीको अन्तिम डफ्फा आज काठमाडाँै आइपुगेसँगै त्यहाँ कुनै नेपाली सुरक्षा जोखिममा नरहेको परराष्ट्र मन्त्रालयले बताएको छ । आज स्वदेश फर्केका ३२ जनासँगै उद्धार भई स्वदेश फर्कनेको सङ्ख्या ९४० पुगेको छ ।

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोग तथा कार्यालयमा अतिआवश्यक कार्यमा संलग्न केही नेपालीहरु मात्र रहेका तथा उनीहरूमा सुरक्षा जोखिम नरहेको बताउँदै मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रसङ्घीय निकायले अतिआवश्यक मानवीय तथा विकाससम्बन्धी कार्य जारी रहने जनाउँदै राष्ट्रसङ्घमा कार्यरत नेपालीलाई कुनै सुरक्षामा जोखिम भए सबैलाई सुरक्षितरूपमा नेपाल फीर्तिको प्रबन्ध मिलाइने जानकारी दिएका छन् ।”

उद्धार भई आज फर्केकाहरू वैदेशिक रोजगारीको स्वीकृति नलिई अफगानिस्तान पुगेका, राजधानी काबुलका विभिन्न भागमा स–सानो समूहमा छरिएर रहेका तथा उनीहरूलाई एउटै समूहमा आवद्ध गरी आवास र भोजनको सुविधासहित सुरक्षितरूपमा राख्ने प्रबन्ध नेपाल सरकारको अनुरोधमा आइडिजी कम्पनीमार्फत गरिएको थियो ।

तालिवान सत्ता प्रारम्भ भएदेखि नै सरकारले उद्धारका निम्ति अफगानिस्तानको निरन्तर अनुगमन गरी काबुल तथा काठमाडाँैस्थित मित्रराष्ट्र भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, जर्मनी, युरोपेली सङ्घ, जापानका राजदूतावासहरू, काबुलस्थित नेटो सैन्य अधिकारी, संयुक्त राष्ट्रसङ्घीय नियोग तथा कार्यालय, अन्य अन्तर्राष्ट्रिय सङ्घसंस्थाका कार्यालय तथा रोजगारदाता एवं जनशक्ति आपूर्ति गर्ने कम्पनी, स्थानीय कार्यालय एवं तिनका मुख्यालयमार्फत कूटनीतिक प्रयास गरेको थियो ।

सरकारले अफगानिस्तानको उद्धार ‘मिशन’ मा सहयोग गरेका सबै स्वदेशी निकाय, रोजगारदाता, मित्रराष्ट्रहरु तथा राष्ट्रसङ्घीय निकायप्रति आभार व्यक्त गरेको छ ।

यो पनि – ‘विगतका कमजोरी सच्याउँदै काङ्ग्रेस सुदृढ बनाऔँ’

दमौली, १३ कात्तिक (रासस) : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले विगतमा भएका गल्ती तथा कमजोरीलाई सच्याउँदै पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समिति वडा नं ६ ले दीपावली, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भण्डारीले कांग्रेस सुदृढ नभएसम्म आम निर्वाचन जित्न नसकिने बताउनुभयो ।

कांग्रेस नेता कार्यकर्ताबीच भावनात्मक एकता नहुँदा गत निर्वाचनमा कांग्रेसले नराम्रोसँग पराजय भोग्नुपरेको जनाउँदै पूर्वमन्त्री भण्डारीले भन्नुभयो, “मेरा तर्फबाट केही गल्ती भए स्वीकार गर्न म तयार छु, सबैले आ–आफ्नो कमजोरी स्वीकार गरौँ र पार्टीलाई एक ढिक्का बनाऔँ ।” पूर्वमन्त्री भण्डारीले नेतृत्वमा रहेका नेताको निर्णयका कारण पनि पार्टीले हार व्यहोर्नुपरेको टिप्पणी गर्नुभयो ।

पार्टीमा केही समस्या रहेकाले समस्याको समाधान नगरेसम्म पार्टी नबन्ने भण्डारीको जिकिर थियो । “कतिपय ठाउँमा एकाङ्की तरिकाले टिकट बाँडियो, केन्द्रीय तहमा रहेका हामीहरुसँग पनि सल्लाह भएन”, उहाँले भन्नुभयो, “कित्ताकाट नगरी एक भएर अगाडि बढौँ, आगामी चुनाव जितिन्छ ।”

पार्टीको १४औँ महाधिवेशनमा तनहुँका रहेका पुराना र युवापुस्ता दुवैलाई मिलाएर लैजानुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “अहिले पनि केही नेताले कोठामा बसेर कित्ताकाट गर्ने काम गरिरहेका छन्, तेरो र मेरो मान्छे भनेर विभाजन गर्ने काम भइरहेको छ, त्यस्ता काम बन्द गरौँ ।” उहाँले आम निर्वाचनमा कांग्रेसलाई जिताउन बरु आफू उम्मेदवार नबन्ने घोषणा गर्नुभयो ।

आमन्त्रित केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य धु्रव वाग्लेले कांग्रेसभित्रको वातावरण दूषित हुँदै गएकाले त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसभित्र नीतिभन्दा नेता हाबी हुने प्रवृत्ति मौलाएको जनाउँदै उहाँले भन्नुभयो, “पार्टीमा नीति ठूलो हो, विचार ठूलो हो नेता होइन, सबैलाई मिलाएर लैजान सक्ने पार्टी नेतृत्व आवश्यक छ ।”

नेपाली कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले निर्वाचनको परिणामलाई बिर्सदै सद्भावको यात्रा बढाउन सके कांग्रेस एक ढिक्का हुनसक्ने बताउनुभयो । न्यौपानेले विगतको कमजोरी सच्याउँदै अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । कांग्रेस तनहुँ क्षेत्र नं २ का उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठले कांग्रेसभित्रका मतान्तर बिर्सिएर अगाडि नबढे आगामी स्थानीय र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पराजय हुने बताउनुभयो ।