काठमाडौँ, १३ कात्तिक (रासस) : गृहमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गृहमन्त्रालयबाट प्रवाह हुने सूचना आधिकारिकरूपमा समयमै सम्प्रेषण हुने बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले आधिकारिक व्यक्तिबाटै समयमै सूचना सम्प्रेषणको व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “गृहमन्त्रालय मातहतका प्रशासन र सुरक्षा निकायमा राम्रो होस् भन्नका लागि सरुवामा केही ढिलाइ भएको छ, मापदण्ड र कार्यक्षमताका आधारमा कर्मचारीलाई जिम्मेवारी दिइने छ ।”
कार्यबोझ र चुनौती थपिए पनि कतिपय स्थान र निकायमा विगतमा भन्दा तल्लो तहका कर्मचारीलाई जिम्मेवारी दिने कार्यले कार्यसम्पादनमा तालमेल नभएको जनाउँदै उहाँले भन्नुभयो¬, “संसारभर सुरक्षाका नयाँ–नयाँ चुनौती थपिएको छ ।”
गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा र शान्ति सुरक्षा कायम गर्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिइएको बताउनुभयो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मन्त्रालयबाट सम्प्रेषण हुने सूचना सहज र सरलरूपमा प्रवाह गर्न आफूहरु सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।
यो पनि – लिखतको सेवा शुल्क निर्धारण
मालपोतसम्बन्धी लिखत तयार गरेबापत भू–सेवा केन्द्रले लिने सेवा शुल्क निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा मालपोत, लेखापढी कानुन व्यवसायीका प्रतिनिधि र भू–सेवा केन्द्र सञ्चालकहरुको संयुक्त बैठकले शुल्क निर्धारण गरेको मालपोत कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतमा अनुमति पाएका १०० भूसेवा केन्द्रमध्ये ८० वटाले मालपोतसम्बन्धी सेवा दिइरहेका छन् । आफूखुसी शुल्क लिँदै आएका भू–सेवा केन्द्रले अब सेवाग्राहीबाट कामको प्रकृतिअनुसार निर्धारित शुल्क मात्र लिन पाउनेछन् । मालपोत कार्यालय सुर्खेतका प्रमुख जनकबहादुर हमालले नयाँ निर्धारित सेवा शुल्क आइतबारदेखि लागू हुने जानकारी दिनुभयो ।
“भू–सेवा केन्द्रहरुले मनोमानी शुल्क असुलेको गुनासो थियो, अहिले निर्धारण गरिएको शुल्क यसअघि लिँदै आएको भन्दा झण्डै आधा कम छ,” उहाँले भन्नुभयो, “अब सेवाग्राही ठगिने समस्या अन्त्य हुनेछ ।”
मालपोत कार्यालयका अनुसार भू–सेवा केन्द्रले अंशबन्डाको लिखत गर्दा रु दुई हजार तीन जनाभन्दा बढी अंशियारको हकमा प्रतिअंशियार थप रु २००, अंश बुझेको भर्पाईमा रु एक हजार ५०० तीन जनाभन्दा बढी अंशियारको हकमा प्रतिअंशियार थप रु २००, बकसपत्र, छोडपत्र, दर्ताफारी, दानपत्र, राजीनामा, नामसारी र सट्टापट्टासम्बन्धी लिखितको रु एक हजार ५०० निर्धारण गरिएको छ ।
त्यस्तै रोक्का–फुकुवाअन्तर्गत पत्रका आधारमा ठाडो रोक्काको लिखतको रु ५००, दृष्टिबन्धकी (लिखत पारित) रु एक हजार र त्यसको प्रिन्ट गर्नुपरेमा थप रु ३००, व्यक्तिगत दृष्टिबन्धकीको रु एक हजार ५००, दाखिला खारेजअन्तर्गत अदालतको फैसला, मिलापत्र तथा लिलामको लिखत बनाएको रु एक हजार तोकिएको छ । कित्ता एकीकरण, स्रेस्ता अद्यावधिक, लगतकट्टा, संशोधन, प्रतिलिपि प्रक्रियाको लिखत तयार गरेबापत प्रत्येक सेवाको रु ५०० शुल्क निर्धारण गरिएको छ । अन्य साधारण निवेदनको भने रु ३०० शुल्क तोकिएको छ ।



प्रतिक्रिया