काठमाडौँ, १३ कात्तिक (रासस) : काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ स्थित एक घरमा आगलागी हुँदै रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय पासिकोट शिवमन्दिर नजिक बस्ने ४३ वर्षीय दिलसेन खड्काको घरमा ग्याँस सिलिन्डर पड्किएर गए राति आगलागी भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आज सङ्कलित प्रारम्भिक विवरणमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद रु एक लाख ५० हजारसहित रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैबीच काठमाडौँको टोखा नगरपालिका–३ रमाइलो डाँडा बस्ने कुमार शाहको घरबाट एक थान टेलिभिजन र सुनका विभिन्न गहनासमेत गरी करिब रु चार लाख ८१ हजार बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्ति फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
यता काठमाडौँ महानगरपालिका–१३ टङ्केश्वर डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका–३ का ४२ वर्षीय रामप्रसाद श्रीवास्तवको कोठाबाट करिब रु तीन लाख ३७ हजार बराबरको सुन तथा चाँदीका गहना चोरी भएको प्रहरीले आज सूचनामार्फत जानकारी दिएको छ ।
यसैबीच महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा काठमाडौँ–१५ डल्लु बस्ने कालिकोट तिलगुफा नगरपालिका–११ का ३१ वर्षीय नारायण शाहीलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो पनि – नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ । पक्राउपर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग रु २० हजार लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो । पक्राउपर्ने लिम्बूलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।
३५ हजारले लगाए कोरोनाविरुद्धको खोप
जिल्लामा सुरुदेखि हालसम्म ३५ हजार नगरिकले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएका छ । जिल्लामा १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आएको भए पनि नागरिकले खोप प्रति चासो नदेखाएको पाइएको छ । जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायले जानकारी दिनुभयो । तर पछिल्लो समय दुई चरणमा सञ्चालित खोप अभियानमा करिब १५ हजार जनाले मात्र खोप लगाएको उहाँले बताउनुभयो ।
यस अवधिका ५० हजारले कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेकामा करिब ३० प्रतिशतले मात्र खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका नागरिकले लक्ष्यअनुसार कोरोनाविरुद्ध खोप नलगाएपछि जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले अनिवार्य रुपमा खोप लगाउन सबैमा आग्रह गर्नुभएको छ । खोप लगाउनु नागरिकको अधिकार मात्र नभई कर्तव्यसमेत भएकाले अनिवार्य लगाउन समितिले आग्रह गर्नुभयो ।
कोरोनाविरुद्ध खोप लगाउन मिल्ने नागरिकले नलगाई सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाहीसमेत गर्ने तयारी गरिएको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । आआफ्नो क्षेत्रमा खोप लगाउन बाँकी रहेका नागरिकको सूची तयार गरी अनिवार्य खोप लगाउने वातावरण मिलाउनका लागि पाण्डेले स्थानीय तहका जनप्रतिनिधिलाई आग्रहसमेत गर्नुभएको छ ।
खोप लगाउन अटेर गरेको पाइए सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाही गर्नु आफ्नो बाध्यता हुने पनि उहाँको भनाइ छ । अठार वर्ष पूरा भएका जिल्लाका सबै नागरिकलाई पुग्नेगरी पर्याप्त खोप आएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय करिब ६१ हजार जनालाई पुग्नेगरी भेरोसिल खोप आएको जिल्ला खोप व्यस्थापन समितिले जनाएको छ ।



प्रतिक्रिया