काठमाडौँ महानगरपालिका–१९ स्थित इन्द्रसभा सामुदायिक भवन पुनःनिर्माणकार्य रु २० लाखको लागतमा सम्पन्न भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत उक्त भवन पुनःनिर्माण गरिएको हो ।
यहाँ आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले भवनको उद्घाटन
गर्दै मुलुकको विकास र निर्माणमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको महत्व रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टी कम्युनिष्ट विचारको मूलधार भएको बताउँदै जनताको सेवालाई केन्द्रमा राखेर विकास र समृद्धिका कार्यमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । असंवैधानिक कार्य गरी निरंकुश र स्वेच्छाचारी ढङ्गले लोकतन्त्रलाई अवरोध गरेकाले आफूहरू विद्रोह गरी नयाँ पार्टी स्थापना गरेको उल्लेख गर्नुभयो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले स्थानीय जनसमुदायको मागअनुसार निर्माणकार्यका लागि काठमाडौँ क्षेत्र नं ८ का विभिन्न स्थानमा सम्पदा संरक्षण तथा विकासकार्यमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत कार्य भइरहेको जानकारी दिनुभयो ।



प्रतिक्रिया