मूल्यवृद्धि खारेज गर्न नेविसङ्घको माग

मूल्यवृद्धि खारेज गर्न नेविसङ्घको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप असहज हुने भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्नुभएको छ ।

“पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत मूल्यवृद्धि हुने अवस्था सिर्जना भएकाले मूल्यवृद्धिको निर्णयप्रति खेद व्यक्त गर्दछौँ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीले लामो समयदेखि अफ्ठ्यारो भइरहेको अवस्थामा जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने काम भएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्नुभयो ।

नेविसङ्घले नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्न सरकासँग माग गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए नेविसङ्घले कडा आन्दोलन गर्ने जनाएको छ ।

यो पनि – पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग

विभिन्न छ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा शुक्रबार गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्य वृद्धिले आमनेपालीको जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन् ।

दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । संयुक्त विज्ञप्तिमा निगमभित्रको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलिया पदार्थ उपलब्ध गराउन विभिन्न उपायको खोजी गर्नेतर्फ लाग्न अनुरोध गरिएको छ । अन्तरराष्ट्रिय बजारको मूल्य समायोजनको हवाला दिँदै गरिएको मूल्यवृद्धि फिर्ता लिन उनीहरुले माग गरेका छन् ।

यसरी माग गर्नेमा अखिल(क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल(छैटौँ) का अध्यक्ष देवेन्द्र कुँवर, अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही र अखिल(क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल हुनुहुन्छ ।

यो पनि – फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

सरकारले आज रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ । त्यसैगरी डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर रु तीनले बढेर रु ११६ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर रू १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु ९६ पुगेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार आज रातिदेखि लागू हुनेगरी मुल्य वृद्धि गरिएको निगमका सह प्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु ५० वृद्धि गरी एक हजार ५०० कायम गरिने भएको छ । पछिल्लो पटक असोज ३० गते इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा रु दुई अर्ब २२ करोड घाटा भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।