प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पनि लण्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त हुनुभयो । उहाँसँग आइतबार बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्डष्ट्रिज मन्त्री पल सोलीले शिष्टाचार भेट गर्नुभयो । नेपालमा नवीन प्रविधि भित्र्याउन बेलायतको सहयोगको अपेक्षा गर्दै प्रधामन्त्री देउवाले ‘ग्रिन एण्ड क्लीन’ ऊर्जामा लगानीका निम्ति संयुक्त अधिराज्यका उद्योगपति व्यापारीलाई नेपाल गन्तव्य बनाउन आग्रह गर्नुभयो । प्रधानमन्त्रीको आग्रहलाई सहर्ष स्वीकार गर्दै मन्त्री सोलीले बेलायत सरकार र उच्च निकायसँग थप छलफल गरेर निष्कर्षमा पुगिने र सक्दो सहयोगको प्रतिबद्धता जनाउनुभएको भेटमा सहभागी परारष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्दै बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्ड्रीजका मन्त्री पल सोली । तस्वीर ः भीष्मराज ओझा, रासस
आइतबार नै यहाँस्थित भूतपूर्व गोर्खा सैनिक सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले बेलायती कानुनअनुसारको माग राख्न आग्रह गर्दै उहाँहरूका समस्या समाधानमा नेपाल सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको थियो । आजै प्रधानमन्त्री देउवासँग वल्र्ड इनर्जी काउन्सिलका चिफ अपरेटिङ अफिसर तानिया बौम्यानले पनि भेटवार्ता गर्नुभयो ।
प्रधानमन्त्रीको सम्मानमा लण्डनस्थित नेपाली दूताबासका कार्यवाहक राजदूत रोशन खनालले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो । साथै उहाँले जलवायु परिवर्तनका असरले नेपालमा पारेको प्रभावलाई मुख्य मुद्दाका रुपमा प्रस्तुत गर्ने बताउनुभयो ।
कोप–२६ मा नेपालको उपस्थितिबारे मन्तव्य व्यक्त गर्दै उहाँले भन्नुभयो, “पछिल्लो समयमा जलवायुजन्य विपद्ले पारेको प्रभाव, जलवायुजन्य हानी नोक्सानी, अनुकूलन र न्यूनीकरणलगायत विषय नेपालको धारणा राख्नेछु ।”
प्रधानमन्त्री देउवा नोभेम्बर भोलि र पर्सी स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाकासंरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुँदै हुनुहुन्छ । प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादवसमेत हुनुहुन्छ ।



प्रतिक्रिया