कोरोनाका कारण प्रभावित भएका उद्योग व्यवसायलाई राहत दिने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले आवेदन गर्न आह्वान गरेको छ । कोरोनाका कारण प्रभावित, अतिप्रभावित क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर राहत दिने प्रयोजनका साथ केन्द्रीय बैंकले आवेदनका लागि आग्रह गरेको हो । राष्ट्र बैंकले आज इजाजत लिएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आवेदन दिन भनेको हो । नेपाल राष्ट्र बैंक पुनः कर्जा कार्यविधि, २०७७ को तेस्रो संशोधनअनुरुप एकमुष्टरुपमा लघु, घरेलु तथा साना उद्यम पुनःकर्जा, साधारण पुनःकर्जा तथा विशेष पुनःकर्जाका लागि आवेदन अनुरोध गरेको छ ।
आगामी पुस १९ गतेसम्म सो कर्जाका लागि आवेदन दिने समयसीमा रहेको छ । कोरोनाबाट अति तथा मध्यम प्रभावित क्षेत्रलाई त्यस्तो कर्जा दिनुपर्नेछ । पर्यटन क्षेत्र, होटल, मनोरञ्जन क्षेत्र, तयारी पोशाक, रोजगारी गुमेका अन्य क्षेत्र, यात्रुबाहक सवारी साधनलगायत विभिन्न १५ क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ । यस्तै मध्यम प्रभावित क्षेत्रमा खप्ने सामान उत्पादन गर्ने उद्योग, अस्पताल, भण्डारण गर्न सकिने वस्तु तयार पार्ने उद्योग, निर्माणमा रहेका जलविद्युत् आयोजना मध्यम प्रभावित क्षेत्रमा रहेका छन् ।
आवेदन पेश गर्ने बैंक तथा वित्तीय संस्थाले प्रत्येक शाखाबाट न्यूनतम पाँच गाहक ऋणी समेटिएको हुनुपर्छ । एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत मात्र आवेदन गर्दा लघुउद्यम, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीलाई समेट्नुपर्नेछ ।
यो पनि – हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउँछौँ : मन्त्री शर्मा
अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारी स्वामित्वमा रहेका बन्द उद्योग सञ्चालनमा ल्याएर युवामा रोजगार सिर्जना गर्ने बताउनुभयो । आज हेटौँडामा वाइसिएल हेटौँडाको नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बन्द रहेका हेटौँडाको कपडा उद्योग, गोर्खाको टायर उद्योग, जनकपुरको चुरोट कारखानालगायत दर्जनौँ उद्योग सरकारले पुनःसञ्चालनमा ल्याएर हजारौँ युवालाई रोजगार दिने सरकारको योजना रहेको सुनाउनुभयो ।
विद्यार्थीलाई पढाई सकिँदासम्म उद्यमी, व्यवसायी र प्राविधिक बनाइसक्ने योजनाअनुरुप सरकारले ‘कमाउँदै, पढ्दै’ योजना ल्याएको मन्त्री शर्माको भनाइ छ । यसैगरी घाइतेलाई उपचार, अतिविपन्न परिवारलाई तिहारलगत्तै रु १० हजार दिने योजना सरकारको रहेको उहाँले बताउनुभयो । यसका साथै भर्खरै गएको बाढीले धानबाली नष्ट भएकामा किसानको खेतीअनुसार सरकारले ६५ प्रतिशतसम्म राहतको व्यवस्था गरेको मन्त्री शर्माको भनाइ छ । जनतालाई जनमुखी सरकार छ भन्ने आभास दिने उहाँले जनाउनुभयो ।
त्यसैगरी वाग्मती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले जनताको भावनाअनुरुप कार्य गर्ने बताउनुभयो । सरकारले गर्नसक्ने जनपक्षीय कार्य आफूहरूले गर्ने उहाँको भनाइ छ । कार्यक्रममा वाइसिएल नेपालका इञ्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले माओवादीले महिला, युवालगायतलाई पार्टीमा मात्र नभएर सरकारमा जाने अवसरसमेत प्रदान गरेको जनाउनुभयो ।



प्रतिक्रिया