प्रदेश नं १ का विपक्षी गठबन्धनले नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी), जनता समाजवादी पार्टी नेपाल र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको आज बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेको हो ।
नेकां संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अब बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताउनुभयो । मुख्यमन्त्री नियुक्तिपछि मन्त्रालय भागबण्डालगायत अन्य विषयमा छलफल गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो । बैठकले प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यको विपक्षमा मतदान गर्न सबै दलले सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको छ । प्रदेशसभामा ९२ सदस्य रहेकामा नेकपा (एमाले)सँग सभामुखसहित ४१ सांसद छन् ।
विपक्षी गठबन्धन नेकाँको २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जसपासँग तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सदस्य छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची रहेको छ ।
यो पनि – हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउँछौँ : मन्त्री शर्मा
अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारी स्वामित्वमा रहेका बन्द उद्योग सञ्चालनमा ल्याएर युवामा रोजगार सिर्जना गर्ने बताउनुभयो । आज हेटौँडामा वाइसिएल हेटौँडाको नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बन्द रहेका हेटौँडाको कपडा उद्योग, गोर्खाको टायर उद्योग, जनकपुरको चुरोट कारखानालगायत दर्जनौँ उद्योग सरकारले पुनःसञ्चालनमा ल्याएर हजारौँ युवालाई रोजगार दिने सरकारको योजना रहेको सुनाउनुभयो ।
विद्यार्थीलाई पढाई सकिँदासम्म उद्यमी, व्यवसायी र प्राविधिक बनाइसक्ने योजनाअनुरुप सरकारले ‘कमाउँदै, पढ्दै’ योजना ल्याएको मन्त्री शर्माको भनाइ छ । यसैगरी घाइतेलाई उपचार, अतिविपन्न परिवारलाई तिहारलगत्तै रु १० हजार दिने योजना सरकारको रहेको उहाँले बताउनुभयो । यसका साथै भर्खरै गएको बाढीले धानबाली नष्ट भएकामा किसानको खेतीअनुसार सरकारले ६५ प्रतिशतसम्म राहतको व्यवस्था गरेको मन्त्री शर्माको भनाइ छ । जनतालाई जनमुखी सरकार छ भन्ने आभास दिने उहाँले जनाउनुभयो ।
त्यसैगरी वाग्मती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले जनताको भावनाअनुरुप कार्य गर्ने बताउनुभयो । सरकारले गर्नसक्ने जनपक्षीय कार्य आफूहरूले गर्ने उहाँको भनाइ छ । कार्यक्रममा वाइसिएल नेपालका इञ्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले माओवादीले महिला, युवालगायतलाई पार्टीमा मात्र नभएर सरकारमा जाने अवसरसमेत प्रदान गरेको जनाउनुभयो ।
यो पनि – वर्तमान गठबन्धनको सरकार जनताप्रति उत्तरदायी हो : अर्थमन्त्री शर्मा
अर्थमन्त्री एवं नेकपा माओवादीका नेता जनार्दन शर्माले वर्तमान गठबन्धनको सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताउनुभएको छ । हेटौँडामा आज आयोजित वाइसिएल हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनमा उहाँले भन्नुभयो, “नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धनको सरकारले जनउत्तरदायित्व बहन गर्दै जनताको हित हुने काम गरिरहेको छ ।” उहाँले देशको अर्थतन्त्र ऋणात्मक भइरहेको बेला हालै आएको प्राकृतिक विपत्तिले थप जटिलता दिएकाले अर्थतन्त्रमा थप नकारात्मक असर परेको बताउनुभयो । हालै आएको बेमौसमी बाढीका कारण देशको जिडिपीमा ७ प्रतिशत योगदान रहेको कृषितर्फको धान खेती नष्ट हुँदा देशको अर्थतन्त्रसँगै गरिब किसानकोे जीविकामा जटिलता थपिएको उल्लेख गर्नुभयो ।
मन्त्री शर्माले सरकारले छोटो समयमा प्रतिस्थापन विधेयकमार्फत युवा, महिला, विद्यार्थी, बालबालिका, घाइते, अपाङ्ग, शहीद परिवार र गरिब जनताको मुद्दामा थोरै भए पनि बजेट विनियोजन गरेर सम्बोधन गर्ने काम गरेको बताउनुभयो । प्राकृतिक प्रकोपबाट धान खेती नष्ट भएका कृषकको पीडा सम्बोधन गर्ने उद्देश्यका साथ सरकारले राहतको प्याकेजसमेत ल्याएको र चाँडै नै कृषकलाई राहत उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो पनि – लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका–९ डण्डाटोलमा जसपा सिरहाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान संविधानले सबै वर्ग, क्षेत्र, समुदाय र लिङ्गलाई समेट्न नसकेकाले संशोधन गरी सबैको सर्वस्वीकार्य बनाउनुपर्ने बताउनुभयो ।
सबै दलको संयुक्त प्रयासमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सही लोकतन्त्र स्थापना हुन नसकेको टिप्पणी गर्नुहुँदै उहाँले भन्नुभयो, “लोकतन्त्रमा सबै जातिभाषा, धर्म, समुदाय, लिङ्गको राज्यसत्तामा सामानुपातिक पहुँच हुनुपर्छ । राज्यको हरेक अङ्गमा सामानुपातिक प्रतिनिधित्वले मात्र हिमाल, पहाड, तराईलाई एकजुट भएर अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले संविधान संशोधन गरी नयाँ सङ्घीय व्यवस्था स्थापना गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको जिकिर गर्नुभयो ।
“आउने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा पार्टीलाई एक नम्बरको पार्टी बनाउन लाग्नुहोस्” डा. भट्टराई भन्नुभयो,“ तपाईहरू सङ्गठन विस्तार, शुदृढीकरण र प्रचारमा जुट्नुस् हामीले आज गरेको मेहनतले भोलि परिणाम दिने हो ।”
यो पनि – सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज इजलास तोकेपनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश राणाको एकल इजलासमा मात्र सुनुवाइ भयो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि पेसी तोकेपनि प्रधानन्यायाधीशको एकल इजलासमा मात्र सुनुवाइ भएको बताउनुभयो ।
गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाउँदै न्यायाधीशहरु इजलासमा उपस्थित हुनुभएको छैन ।प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरुलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको छ । अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । यसका कारण टाढाबाट आएका सेवाग्राहीहरु पनि मर्कामा परेका छन् ।



प्रतिक्रिया