कास्की, १५ कात्तिक (रासस) : जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । प्रशासनले आइतबार सूचना जारी गरी कोभिड–१९ रोगको सङ्क्रमणदर अपेक्षित घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापण्ड पूर्णपालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न आदेश जारी गरेको छ ।
यसैगरी देउसी–भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासितरूपमा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न आग्रह गरेको छ ।
चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिकस्थलमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ । मठमन्दिर, गुम्बालगायतका धार्मिकस्थलमा अनावश्यक भीडभाड हुन नदिइ स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी पूजापाठलगायतका अन्य क्रियाकलाप सञ्चालन गर्न पनि अपिल गरिएको छ ।
यो पनि – राष्ट्रपति भण्डारी आज मनाङ आउने
– नवीन लामिछाने, मनाङ, १५ कात्तिक (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउनुहुने भएको छ । अवलोकन भ्रमणका लागि उहाँ मनाङ आउन लाग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिनुभयो ।
“मनाङमा उहाँले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नुहुने छ । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उहाँले अवलोकन गर्नुहुने प्रजिअ आचार्यले जानकारी दिनुभयो । जलवायु परिवर्तनका कारण यस हिमाजी जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिनुहुने बताइएको छ ।
यस जिल्लाका हिमाली क्षेत्रमा समेत गत असारको बाढीपहिराले प्रभाव पारेको छ । यसको न्यूनीकरण गर्न तथा बाढीले ध्वस्त बनाएका यातायात विद्युत्लगायतका स्थानीय संंरचनाहरूको पुनःनिर्माणका लागि स्थानीय सरकारका जनप्रतिनिधिले प्रयास गरिरहेका छन् ।
बाढीका कारण केही समय यातायातबाट बिच्छेद भएको मनाङलाई अहिले आधारभूत मार्गले भने जोडिएको छ । त्यस्तै ध्वस्त भएका संरचनाको पुनःनिर्माण गरी मनाङमा विद्युत् सेवा पनि पुनः सञ्चालनमा ल्याइएको छ ।
आज राष्ट्रपति भण्डारीले अवलोकन गर्नुहुने स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो । यो फार्म मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा पर्छ । मनाङको चामेबाट यो फार्म करिब तीन किलोमिटर टाढा पर्दछ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।
गत आर्थिक वर्षमा उक्त फार्मबाट ४५० टन स्याउ उत्पादन भएको थियो । उक्त फार्म ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ । मनाङको स्याउ स्वादिलो हुने भएकाले स्थानीय र बाह्य बजारमा पनि निकै लोकप्रिय रहिआएको छ ।



प्रतिक्रिया