राष्ट्रपति भण्डारी आज मनाङ आउने

राष्ट्रपति भण्डारी आज मनाङ आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवीन लामिछाने, मनाङ, १५ कात्तिक (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउनुहुने भएको छ । अवलोकन भ्रमणका लागि उहाँ मनाङ आउन लाग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिनुभयो ।

“मनाङमा उहाँले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नुहुने छ । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उहाँले अवलोकन गर्नुहुने प्रजिअ आचार्यले जानकारी दिनुभयो । जलवायु परिवर्तनका कारण यस हिमाजी जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिनुहुने बताइएको छ ।

यस जिल्लाका हिमाली क्षेत्रमा समेत गत असारको बाढीपहिराले प्रभाव पारेको छ । यसको न्यूनीकरण गर्न तथा बाढीले ध्वस्त बनाएका यातायात विद्युत्लगायतका स्थानीय संंरचनाहरूको पुनःनिर्माणका लागि स्थानीय सरकारका जनप्रतिनिधिले प्रयास गरिरहेका छन् । बाढीका कारण केही समय यातायातबाट बिच्छेद भएको मनाङलाई अहिले आधारभूत मार्गले भने जोडिएको छ । त्यस्तै ध्वस्त भएका संरचनाको पुनःनिर्माण गरी मनाङमा विद्युत् सेवा पनि पुनः सञ्चालनमा ल्याइएको छ ।

आज राष्ट्रपति भण्डारीले अवलोकन गर्नुहुने स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो । यो फार्म मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा पर्छ । मनाङको चामेबाट यो फार्म करिब तीन किलोमिटर टाढा पर्दछ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

गत आर्थिक वर्षमा उक्त फार्मबाट ४५० टन स्याउ उत्पादन भएको थियो । उक्त फार्म ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ । मनाङको स्याउ स्वादिलो हुने भएकाले स्थानीय र बाह्य बजारमा पनि निकै लोकप्रिय रहिआएको छ ।

यो पनि – नेकपा (एकीकृत समाजवादी) खोटाङका इन्चार्जमा चाम्लिङ र अध्यक्षमा राई

खोटाङ, १५ कातिक (रासस) : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । यही कात्तिक १२ र १३ गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकले जिल्ला कार्यसमितिको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज एवं जनवर्गीय सङ्गठन निर्माण गरेको हो ।

जिल्ला अध्यक्षको जिम्मेवारी तत्कालीन सचिव जलशेर राईलाई दिइएको छ । तत्कालीन जिल्ला अध्यक्ष बबि चाम्लिङलाई पार्टीले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्जको जिम्मेवारी दिएपछि उहाँले अध्यक्षको जिम्मेवारी सचिव राईलाई हस्तान्तरण गर्नुभएको हो ।

पचपन्न सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा बमबहादुर खत्री, अकिलकुमार राई र नरेशकुमार राई, सचिवमा राजन आचार्य, उपसचिवमा मनिषा राई, किशोर आचार्य, कृष्णचन्द्र श्रेष्ठ, माइतीराज राई र सुमन राई तथा कोषाध्यक्षमा एन्टी शेर्पा चयन हुनुभएको छ । जिल्ला कार्यसमितिको बैठकले २३ सदस्यीय सचिवालय समितिसमेत चयन गरेको जनाइएको छ ।

बैठकले जिल्लाका दशवटै स्थानीय तहमा इन्चार्ज र सहइन्चार्ज तोकिएको जिल्ला सचिव राजन आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा शुभचन्द्र राई, सहइन्चार्ज शम्भु घिमिरे तथा हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा अकिल राई र सहइन्चार्जमा विष्णु दाहाललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी बराहपोखरी गाउँपालिकाको इन्चार्जमा भुवल राई, सहइन्चार्जमा बम दाहाल, जन्तेढुङ्गा गाउँपालिकाको इन्चार्जमा सुमन राई, सहइन्चार्जमा जसपाल राई, खोटेहाङ गाउँपालिकाको इन्चार्जमा मिलन श्रेष्ठ, सहइन्चार्ज अर्जुन गौरापिप्ली, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको इन्चार्ज नरेशकुमार राई, सहइन्चार्ज पेशल गुरागार्इँ, साकेला गाउँपालिकाको इन्चार्जमा फूलकुमार राई र सहइन्चार्जमा शिवेन्द्रकुमार राई चयन हुनुभएको छ । यस्तै ऐसेलुखर्क गाउँपालिकाको इन्चार्जमा कृष्ण श्रेष्ठ, सहइन्चार्ज पर्शु राई, केपिलासगढी गाउँपालिकाको इन्चार्जमा माइतीराज राई र सहइन्चार्जमा पवन श्रेष्ठ तथा रावाबेँसी गाउँपालिकाको इन्चार्जमा ईश्वर श्रेष्ठ र पछि राख्ने गरी सहइन्चार्ज खाली राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ । पार्टीले १८ वटा विभागीय प्रमुख, उपप्रमुख पनि तोकेको जनाइएको छ ।

पार्टी विभाजनपछि नेकपा (एमाले)मा हुँदा जोडेका सम्पत्तिका बारेमा तपाईँहरुको दाबी रहन्छ कि रहन्न ? भन्ने पत्रकारको प्रश्नमा आफूहरु केन्द्रीय समितिको निर्णय आएपछि मात्र बोल्ने जिल्ला इन्चार्ज चाम्लिङले जानकारी दिनुभयो । “एमालेको नाममा भएको सम्पत्तिमा हाम्रो पनि हक लाग्छ”, उहाँले भन्नुभयो, “केन्द्रीय समितिले निर्णय गरेको छैन । निर्णय आएपछि जिल्लामा पनि छलफल हुन्छ ।”

राप्रपा खोटाङको अध्यक्षमा ललितकुमार

राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङको जिल्ला अध्यक्षमा ललितकुमार राई ‘जीवन’ चयन हुनुभएको छ । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको निर्वाचित वडाध्यक्ष बन्नुभएका उहाँ राप्रपाको आइतबार सम्पन्न प्रथम अधिवेशनबाट जिल्ला अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

विसं २०३७ देखिे गाउँ कार्यसमिति सदस्य हुँदै जिल्ला युवा सङ्घको अध्यक्ष हुनुभएका उहाँ २०५४ मा पार्टी विभाजनहुँदा जिल्ला सहसचिव, राप्रपा जनशक्ति र राप्रपा एकता हुँदा सर्वसम्मत जिल्ला अध्यक्ष बन्नुभएको थियो । राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकता भएपछि जिल्ला सहअध्यक्ष, प्रदेश नं १ को सहसचिव र त्यसपछि पुनः पार्टी फुटेपछि जिल्ला अध्यक्ष बन्नुभएको थियो ।

राप्रपा नेपाल र राप्रपाबीच पुनः पार्टी एकता भएपछि आयोजित प्रथम जिल्ला अधिवेशनले राईको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जिल्ला कार्यसमितिका अन्य पदाधिकारी भने पहिलो बैठकले चयन गर्ने जनाइएको छ । एकैसाथ आयोजना गरिएको क्षेत्र तथा जिल्ला अधिवेशनले क्षेत्र नं ‘क’ को अध्यक्षमा रामचन्द्र भट्टराई र क्षेत्र नं ‘ख’ को अध्यक्षमा विनोद बस्नेतलाई चयन गरेको छ । दुवै क्षेत्रमा ७७÷७७ सदस्यीय क्षेत्रीय समिति गठन गरिएको नवनिर्वाचत जिल्ला अध्यक्ष राईले जानकारी दिनुभयो ।

यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अध्यक्षमा चन्द्रकुमारी राई (तारा) चयन हुनुभएको जनाइएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकामा ९५ सदस्यीय समिति गठन गरिएको पार्टीले जनाएको छ । क्षेत्रको अन्य पदाधिकारी क्षेत्रले र नगरको अन्य पदाधिकरी नगरले छान्ने राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य रविन चाम्लिङले बताउनुभयो । जिल्लामा आमसभासहित उद्घाटन गरिएको अधिवेशनको अवसर पारेर पार्टीले दिक्तेलबजारमा ¥यालीसमेत निकालेको थियो ।