– विशेष प्रतिनिधि भीष्मराज ओझा, स्कटल्याण्ड, १५ कात्तिक ९रासस० स् प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइपुग्नुभएको छ ।
स्थानीय समयानुसार उहाँ सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । साथै उहाँले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नुहुनेछ । भ्रमणका दौरान उहाँले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सोही दिन उहाँले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता गर्नुहुनेछ ।
सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुग्नुभएका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै उहाँ विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री देउवा आइतबार राति लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो आइपुग्नुभएको हो । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।
यो पनि – विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बेमौसमी वर्षासँगै आईपरेको विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ । आज यहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बझाङका नेता जनक बुढाको नेतृत्वमा आएको प्रतिनिधि टिमले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक भएकाले क्षतिको विवरण आए लगत्तै प्रदेश सरकार स्थानीय र सङ्घीय सरकारसँग समन्वय गरेर पीडितको पुनःव्यवस्थापन गर्ने बताउनुभयो ।
प्रदेशलाई नै प्राकृतिक प्रकोपग्रस्त क्षेत्र घोषणा गर्न आफूले प्रधानमन्त्रीसँग कुरा गरिसकेकाले यस विषयमा थप पहल चाल्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले बाढीपहिराले बझाङमा सबैभन्दा बढी क्षति गरेकाले सरकार आफैँ उपस्थित भएर तत्कालका उद्धार तथा राहतलगायत कार्यमा जुटेको स्मरण गर्नुभयो । माओवादी केन्द्र बझाङ सम्बद्ध नेता तथा प्रदेश सभासदको टोलीले प्रदेश सरकारसँग बझाङलाई बाढी पहिरो ग्रस्त जिल्ला घोषणा गरी प्रभावित स्थानीय बासिन्दाको पुनःव्यवस्था गर्न माग गरेको छ । प्रतिनिधिमण्डलमा माओवादी केन्द्र बझाङबाट प्रदेशसभा सदस्य देवकी मल्ल थापा, शान्ति विकलगायत सहभागिता रहेको थियो ।
यो पनि – कार्यवाहक प्रधानमन्त्री खाँणलाई बुझाइयो प्रतिवेदन
बाँकेका नकुन्नी धोबीको मृत्यु प्रकरण र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानविन गर्न गठित समितिले आज कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानविन समितिले प्रतिवेदन बुझाएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले छानविनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउनुभएको छ ।
समितिले प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका–२ नेवाजीकी नकुन्नी धोबीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर जाहेरी दिएको उल्लेख छ । प्रतिवेदनमा जाहेरीपछि अनुसन्धान भएर दुवै आरोपी हाल पुर्पक्षका लागि थुनामा रहेको र हाल मुद्दा विचाराधीन रहेको जनाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१७ का निर्मला कुर्मीको बेपत्ता प्रकरणमा भने जग्गाको कुरा जोडिएको प्रतिवेदनले औँल्याएको छ । समितिले निर्मला कुर्मीको घटनामा सम्बन्धित निकायबाट विज्ञसहितको टोली गठन गरी अनुसन्धान गर्न सिफारिस गरेको छ । उक्त समितिमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, उपअनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सदस्य हुनुहुन्थ्यो ।



प्रतिक्रिया