टीकापुर, १५ कात्तिक (रासस) : कैलालीको सत्तीकी लक्ष्मी सुनारको घर कात्तिक पहिलो साता आएको बाढीले डुबानमा प¥यो । यसपछि उहाँको परिवार तीन दिन विद्यालयमा र बाँकी १० दिन आफन्तको घरमा आश्रय लिएर बस्यो । हाल तिहार अर्थात् भाइटीका नजिकिन थालेपछि उहाँको परिवार घर फर्किएर घर सरसफाइमा लागेको छ । “घर सफा गर्दै थियौँ, घरभित्र बालुवा र फोहर भरिएको छ । दुई दिनदेखि सरसफाइ गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “घर सफा गर्ने क्रममा दुुईवटा सर्प निस्किए, निकै जोगिएर सरसफाइ गरिरहेका छौँ ।”
भजनीका छहरा धामीको घर पनि बाढीले भत्कायो । बाढीले घरका भित्ता भत्काउनुका साथै घरमा भएको सबै सामान भिजाएपछि छहराको परिवार पनि विस्थापित भयो । उनीहरु पनि विद्यालयमा गएर बसे । तिहार नजिकिएपछि छहराका श्रीमान् कमाउन भारततिर लागे भने छहरा र उनका बालबच्चा घर फर्किएका छन् । घर फर्किएर सरसफाइमा खटेकी छहराको घरमा पनि सर्पले बास गरेको रहेछ । “घर त फोहर किटपतङ्गले भरिएको छ । बस्न सकिएलाजस्तो लाग्दैन तर कति दिन अर्काको घरमा बस्नु भनी सरसफाइ गर्न थालेकी छु”, उहाँले भन्नुभयो, “छिमेकीको सहयोगमा भत्किएका भित्ता लगाइयो, अब लिपपोत गर्न र घरभित्र भरिएको फोहर सफा गर्दैछु ।”
बाढीपछि लक्ष्मी, छहराको मात्रै होइन प्रभावित क्षेत्रमा रहेका घर तथा वरपर सर्प, बिच्छी र अन्य किटपतङ्ग घरमा पसेका हुन्छन् । कैलालीमै सर्प तथा अजिङ्गर पाइने वनका नामले चिनिने सत्ती कर्णाली सामुदायिक वनमा समेत बाढी पसेको छ । बाढीले वनमा रहेका अजिङ्गर तथा सर्प बगाएर बस्तीमा पु¥याएको हुनसक्ने स्थानीय रमेश टमट्टा बताउनुहुन्छ । “बाढीले हरेक वर्ष अजिगङ्र बस्तीमा पु¥याउँछ । बाढी प्रभावित क्षेत्रमा ज्वरो, रुघाखोकी र पखाला लाग्नेजस्ता समस्या देखिन थालेका छन्”,उहाँले भन्नुभयो, “स्थानीय सरकार तथा स्वास्थ्य संस्थाले स्वास्थ्य शिविर गर्ने, नियमित उपचारमा सघाउने, बाढीपीडितको निःशुल्क उपचार गरिदिने गर्नुपर्छ ।”
यस्तो बेला सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । “बाढीको समयमा जताततै फोहर भएको छ । झारपात बगेर आएर बस्तीमा पसेको छ । फोहरका कारण महामारी फैलनसमेत सक्छ”, टीकापुर अस्पतालका डा लालसिंह टमट्टा भन्नुहुन्छ, “यस्तो बेलामा उमालेको पानी पिउने, सुत्दा खाटमा सुत्ने, अनिवार्य झुल लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्छ । बाढीले आर्थिकरूपमा समेत रित्तिएकाहरुलाई महामारी फैलिएमा थप समस्या हुनसक्छ ।”
यो पनि – कास्कीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने
कास्की, १५ कात्तिक (रासस) : जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । प्रशासनले आइतबार सूचना जारी गरी कोभिड–१९ रोगको सङ्क्रमणदर अपेक्षित घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापण्ड पूर्णपालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न आदेश जारी गरेको छ ।
यसैगरी देउसी–भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासितरूपमा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न आग्रह गरेको छ ।
चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिकस्थलमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ । मठमन्दिर, गुम्बालगायतका धार्मिकस्थलमा अनावश्यक भीडभाड हुन नदिइ स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी पूजापाठलगायतका अन्य क्रियाकलाप सञ्चालन गर्न पनि अपिल गरिएको छ ।



प्रतिक्रिया