गण्डकी प्रदेश सरकारका वन वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यसअघिको सरकारले गरेका राम्रा योजनालाई प्राथमिकता दिएर अगाडि बढ्ने बताउनुभएको छ । प्रेस सेन्टर बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएका वन, वातावरण तथा भू–संरक्षणका राम्रा योजनालाई अगाडि बढाउने, असफल भएका योजनाको समीक्षा गर्ने र केही नयाँ योजना लागू गर्ने बताउनुभएको हो ।
“अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु असफल योजनाको कारण खोतल्छु र नयाँ योजना लागू गर्ने योजनामा छु”, मन्त्री थापाले भन्नुभयो, “अहिले नयाँ योजना लागू गर्नुपूर्व जनताको माग र भावनालाई स्थलगतरुपमा नै समावेश गर्न जिल्ला भ्रमणमा निस्केको छु ।”तीन दिने जिल्ला भ्रमणमा आउनुभएका उहाँले जिल्लाको थामानेटा, गलकोट, ढोरपाटन क्षेत्रलगायतको अवलोकन तथा जनतासँग भेटघाट गर्नुभएको थियो। मन्त्री थापाले स्थलगतरुपमा सबै जिल्लाको भ्रमण सकेपछि मात्रै योजना कार्यान्वयनमा लैजाने बताउनुभयो ।
कृषि र धर्मलाई जोडेर पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको छ भन्दै उहाँले अघिल्लो सरकारले थालनी गरेको मुस्ताङमा कस्तुरी प्रजनन केन्द्र अघि बढाइनेसमेत जानकारी दिनुभयो ।
यो पनि – बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी
महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकलाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडना नेपालमा पनि आउँछ ।” खोपको सुनिश्चितता भइसकेको जनाउँदै उहाँले अब छिट्टै खोप ल्याउनतर्फ सरकार लाग्ने बताउनुभयो । कोरोना सङ्क्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उहाँले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिनुभयो । महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा काम गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिसकेको उहाँको भनाइ थियो ।
फरक प्रसङ्गमा उहाँले न्यायपालिकालाई विवादमा पार्नु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “विवाद मिलाएर अगाडि बढ्नुपर्छ ।” न्यायपालिकालाई विवादमा मुछ्नु राम्रो नहुने उहाँका भनाइ थियो ।



प्रतिक्रिया