चन्द्रागिरि उद्योग वाणिज्य सङ्घका अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न सङ्घको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले उपाध्यक्षद्वयमा सुनिल रिजाल, विष्णु शाही, महासचिवमा घनश्याम लुइँटेल, सचिवद्वयमा रमेश कार्की र गीतादेवी भुसाल, कोषाध्यक्षमा राम थापा र सहकोषाध्यक्षमा अनिलकुमार बरालसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले अधिवेशनको शुभारम्भ गर्दै समृद्ध नगरपालिका बनाउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाबाट व्यवसायका क्षेत्रमा परेको असरलाई माथि उठाउन नगरपालिकाले सक्दो सहयोग घोषणा गरेको छ । लगानीमैत्री वातावरण तयार र निजी क्षेत्रको थप प्रवद्र्धन गर्न नगरपालिकाले ध्यान दिएको छ ।”
सङ्घको निवर्तमान अध्यक्ष राजेन्द्रविक्रम बानियाँले नगर क्षेत्रमा आर्थिक गतिविधि प्रवद्र्धन गर्न सङ्घ गठन भएको जानकारी दिँदै आफ्नो कार्यकालमा निजी क्षेत्रको व्यवसायलाई माथि उठाउने महत्वपूर्ण काम भएको बताउनुभयो । काठमाडौँको पहिलो नगर उद्योग सङ्घका रूपमा ‘चन्द्रागिरि उद्योग वाणिज्य सङ्घ गठन’ भएको थियो ।
यो पनि – त्रिअविको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँ
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँले जिम्मेवारी पाउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एभिएशन सेफ्टी एण्ड सेक्युरिटी विभाग प्रमुख रहनुभएका गुरागाईँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको हो ।
प्राधिकरणले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई सरुवा गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठान प्रमुखको जिम्मेवारी दिएको छ । हाल प्रतिष्ठान प्रमुख रहनुभएका देवचन्द्रलाल कर्णलाई प्राधिकरणमा ल्याइएको छ । जिम्मेवारी हेरफेर आजैबाट लागू हुने प्राधिकरणले जनाएको छ ।
एक साताअघि प्राधिकरणको महानिर्देशक बन्नुभएका राजकुमार क्षेत्रीले विभिन्न विभागमा जिम्मेवारी हेरफेर गर्नुभएको छ । यसअघि प्राधिकरणका निर्वतमान महानिर्देशक राजन पोखरेलले प्राधिकरणबाट बाहिरिने क्रममा कर्मचारीको सरुवा गर्नुभएको थियो । मन्त्रिपरिषद्को यही कात्तिक ९ गते भएको बैठकले क्षेत्रीलाई महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यो पनि -राष्ट्रपति भण्डारी आज मनाङ आउने
मनाङ, १५ कात्तिक (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउनुहुने भएको छ । अवलोकन भ्रमणका लागि उहाँ मनाङ आउन लाग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिनुभयो ।
“मनाङमा उहाँले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नुहुने छ । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उहाँले अवलोकन गर्नुहुने प्रजिअ आचार्यले जानकारी दिनुभयो । जलवायु परिवर्तनका कारण यस हिमाजी जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिनुहुने बताइएको छ ।
यस जिल्लाका हिमाली क्षेत्रमा समेत गत असारको बाढीपहिराले प्रभाव पारेको छ । यसको न्यूनीकरण गर्न तथा बाढीले ध्वस्त बनाएका यातायात विद्युत्लगायतका स्थानीय संंरचनाहरूको पुनःनिर्माणका लागि स्थानीय सरकारका जनप्रतिनिधिले प्रयास गरिरहेका छन् ।बाढीका कारण केही समय यातायातबाट बिच्छेद भएको मनाङलाई अहिले आधारभूत मार्गले भने जोडिएको छ । त्यस्तै ध्वस्त भएका संरचनाको पुनःनिर्माण गरी मनाङमा विद्युत् सेवा पनि पुनः सञ्चालनमा ल्याइएको छ ।
आज राष्ट्रपति भण्डारीले अवलोकन गर्नुहुने स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो । यो फार्म मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा पर्छ । मनाङको चामेबाट यो फार्म करिब तीन किलोमिटर टाढा पर्दछ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।गत आर्थिक वर्षमा उक्त फार्मबाट ४५० टन स्याउ उत्पादन भएको थियो । उक्त फार्म ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ । मनाङको स्याउ स्वादिलो हुने भएकाले स्थानीय र बाह्य बजारमा पनि निकै लोकप्रिय रहिआएको छ ।



प्रतिक्रिया