सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्र सुनुवाइ हुने


सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका छ इजलास तोक्नुभएको छ । त्यसमा चार संयुक्त र दुई एकल इजलास रहेका छन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि आज बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइका लागि पेसी तोक्नुभएको छ । अब केही बेरमा सुनुवाइ सुरु हुन्छ ।

गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । गत सोमबारदेखि नै मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको छ । मुद्दाको सुनुवाइ प्रभावित भएको आज एक हप्ता भएको छ ।

सर्वोच्च अदालतको गत सोमबार पूर्ण बैठक (फुलकोर्ट) को बैठक बसेर समस्याको समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफूसक्षम रहेको जनाउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको छ । आज प्रधानन्यायाधीश र न्यायाधीशबीच छलफल गर्ने तय भएको छ । अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । त्यसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।

यो पनि – बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकलाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडना नेपालमा पनि आउँछ ।” खोपको सुनिश्चितता भइसकेको जनाउँदै उहाँले अब छिट्टै खोप ल्याउनतर्फ सरकार लाग्ने बताउनुभयो । कोरोना सङ्क्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उहाँले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिनुभयो । महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा काम गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिसकेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले न्यायपालिकालाई विवादमा पार्नु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “विवाद मिलाएर अगाडि बढ्नुपर्छ ।” न्यायपालिकालाई विवादमा मुछ्नु राम्रो नहुने उहाँका भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस