सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा छ : गृहमन्त्री खाँण

सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा छ : गृहमन्त्री खाँण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ कात्तिक (रासस) : गृहमन्त्री बालकृष्ण खाँणले सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा रहेको बताउनुभएको छ । विश्व ॐकार महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका उहाँले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको बताउनुभएको हो ।

“हामी धार्मिक र सामाजिक सद्भावको पक्षमा छौँ, सरकार कतै पनि सामाजिक विभेद नहोस् भन्ने पक्षमा छ”, गृहमन्त्री खाँणले भन्नुभयो । सबैले समान रूपमा आफ्नो धर्म मान्न पाउनुपर्नेमा जोड दिँदै उहाँले वर्गीय र जातीय रूपमा विभेद भए सामाजिक सद्भाव खल्बलिने पनि बताउनुभयोे ।

महासङ्घका तर्फबाट अध्यक्ष प्रेमलाल महर्जन, पण्डित दीनबन्धु पोखरेललगायतले आज गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । चितवनको भरतपुर महानगरपालिका–४ मा ५८ वर्षीय भीमबहादुर विश्वकर्माको कुटपिटबाट मृत्यु भएको विषयमा केही व्यक्तिले दुर्गा मन्दिरलाई जोडेर जातीय विभेद र छुवाछूतको कारणले हत्या भएको भन्ने गलत र भ्रामक कुरा बाहिर ल्याएर जातीय द्वन्द्व मच्चाउन लागेको भन्ने आरोप लगाएकाले महासङ्घको ध्यानाकर्षण भएको उल्लेख गरिएको थियो ।

ज्ञापनपत्रमा महासङ्घको सक्रियता तथा नवदुर्गा मन्दिर व्यवस्थापन समितिको संयोजनमा कात्तिक ११ गते सर्वजातीय पूजा आयोजना गरी दलित तथा गैरदलितको उल्लेख्य सहभागिता गराएर सामाजिक सन्देश दिन सफल भएको पनि उल्लेख गरिएको थियो ।

यो पनि – सडक अवरुद्व हुँदा बिरामीलाई समस्या

दार्चुला, १५ कात्तिक (रासस) : गत असारदेखि अवरुद्व पारिबगर खण्डेश्वरी जोड्ने सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ । अपिहिमाल गाउँपालिका–५ मकरीगाडसम्म सडक सञ्चालन हुँदा राहत पाएका बिरामी अपिहिमाल–५ तिम्लामा सडक अवरुद्व हुँदा मारमा परेका छन् ।

बिरामीलाई डोको र स्टेचरमा बोकेर अस्पताल लैजानु परेको अपिहिमाल–३ का विरा रोकायाले बताउनुभयो । बिरामीलाई गोकुलेश्वर, दार्चुला सदरमुकाम खलङ्गा र धनगढी लैजान घण्टौँ बोक्नुपर्ने अवस्था छ । ठेकेदारले सडक पुनःनिर्माणमा चासो नदिँदा समस्या भोग्नुपरेको छ । “नजिक अस्पताल छैन्, जटिलखालका बिरामीलाई अन्यत्र लैजान समस्या छ”, रोकायाले भन्नुभयो ।

खण्डेश्वरीका धीरज बोहरा लामो समयदेखि सडक पुनःनिर्माण नगर्दा बिरामीले समयमै उपचार पाउन नसकेको बताउनुहुन्छ । सडक खुलाउन ढिलाइ गर्दा यहाँका बासिन्दालाई सास्ती भएको छ । उक्त क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैनन् । सरकारले घोषणा गरेको दश श्ययाको अस्पताल निर्माण हुनसकेको छैन् । अहिले स्वास्थ्यचौकीका भरममा उपचार गर्नुपरिरहेको अपिहिमाल गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले बताउनुभयो । सडक पुनःनिर्माण नहुँदा गाउँपालिकाले खरिद गरेको एम्बुलेन्ससमेत प्रयोगविहीन बनेको छ । सो एम्बुलेन्स मकरीगाडमै थन्किएको छ ।