दार्चुला, १५ कात्तिक (रासस) : गत असारदेखि अवरुद्व पारिबगर खण्डेश्वरी जोड्ने सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ । अपिहिमाल गाउँपालिका–५ मकरीगाडसम्म सडक सञ्चालन हुँदा राहत पाएका बिरामी अपिहिमाल–५ तिम्लामा सडक अवरुद्व हुँदा मारमा परेका छन् ।
बिरामीलाई डोको र स्टेचरमा बोकेर अस्पताल लैजानु परेको अपिहिमाल–३ का विरा रोकायाले बताउनुभयो । बिरामीलाई गोकुलेश्वर, दार्चुला सदरमुकाम खलङ्गा र धनगढी लैजान घण्टौँ बोक्नुपर्ने अवस्था छ । ठेकेदारले सडक पुनःनिर्माणमा चासो नदिँदा समस्या भोग्नुपरेको छ । “नजिक अस्पताल छैन्, जटिलखालका बिरामीलाई अन्यत्र लैजान समस्या छ”, रोकायाले भन्नुभयो ।
खण्डेश्वरीका धीरज बोहरा लामो समयदेखि सडक पुनःनिर्माण नगर्दा बिरामीले समयमै उपचार पाउन नसकेको बताउनुहुन्छ । सडक खुलाउन ढिलाइ गर्दा यहाँका बासिन्दालाई सास्ती भएको छ । उक्त क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैनन् । सरकारले घोषणा गरेको दश श्ययाको अस्पताल निर्माण हुनसकेको छैन् । अहिले स्वास्थ्यचौकीका भरममा उपचार गर्नुपरिरहेको अपिहिमाल गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले बताउनुभयो । सडक पुनःनिर्माण नहुँदा गाउँपालिकाले खरिद गरेको एम्बुलेन्ससमेत प्रयोगविहीन बनेको छ । सो एम्बुलेन्स मकरीगाडमै थन्किएको छ ।
यो पनि – जनताका आधारभूत आवश्यकतालाई ध्यान दिएर योजना बनाउनुपर्छ ः श्रममन्त्री श्रेष्ठ
दमौली, १५ कात्तिक (रासस) : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताका आधारभूत आवश्यकतालाई ध्यान दिएर स्थानीय तहले योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । तनहुँ जिल्ला समन्वय समितिले आज बन्दिपुर गाउँपालिका–५ याम्पामा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उहाँले स्थानीय तहको योजना जनताको आवश्यकतामा केन्द्रित हुनुपर्ने बताउनुभएको हो ।
विकास निर्माणका सवालमा सबै राजनीतिक दलबीच सहमति र सहकार्य हुनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले विकासका काममा राजनीति गर्न नहुने र समृद्ध तनहुँ बनाउन सबैले हातेमालो गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य कलिला खान, राष्ट्रियसभा सदस्य प्रकाश पथ, गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङ, सरिता गुरुङ, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले एक वर्षको अवधिमा भएका उपलब्धि र कार्यक्रम कार्यान्वयनमा भोग्नुपरेका समस्याबारे वार्षिक समीक्षा गोष्ठीले निश्कर्ष निकाल्ने बताउँदै स्थानीय तहले गरेका राम्रा कामलाई सञ्चारमाध्यमको सहयोगमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
समीक्षा गोष्ठीमा ब्यास, शुक्लागण्डकी र भीमाद र भानु नगरपालिका तथा घिरिङ, देवघाट, बन्दीपुर, आँबुखैरेनी, ऋषिङ र म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले आ–आफ्नो पालिकाको वार्षिक प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो ।



प्रतिक्रिया