काठमाडौँ, १५ कात्तिक (रासस) : नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा सङ्लग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विसं २०७४ साउनमा एक महिलालाई विभिन्न प्रलोभनमा पारेर भारतको कोठीमा लगेर बेच्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भई काठमाडौँको तारकेश्वर बस्ने ३९ वर्षीय जान्द्रे तामाङ भन्ने रामबहादुर तामाङलाई शनिबार फुटुङबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक अनुरागकुमार द्धिवेदीले पीडितलाई खान, बस्न र तलबको प्रलोभन देखाएर भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५९ भन्ने कोठीमा पु¥याएर बिक्री गरको पीडितको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
मानव बेचबिखनमा परेकी पीडित पछिल्लो समय बिरामी परेपछि चितवनकी एक महिलाको सहयोगमा विसं २०७७ चैतमा उद्धार गरेर काठमाडौँ ल्याइएको थियो । पीडितले विसं २०७८ वैशाखमा दिएको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रवक्ता द्धिवेदीले बताउनुभयो । पक्राउ परेका तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारबाही हुने ब्यूरोले जनाएको छ ।
यो पनि – दुई लाख मात्रा खोप माल्दिभ्सबाट आइपुग्यो
काठमाडौँ, १५ कात्तिक (रासस) : माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ । उहाँले खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताउनुभयो । नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ ।



प्रतिक्रिया