रातोढुङ्गा सव स्टेशन अलपत्र

रातोढुङ्गा सव स्टेशन अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १५ कात्तिक (रासस) : मालिका गाउँपालिका–६ रातोढुङ्गामा निर्माणाधीन सवस्टेशन अलपत्र परेको छ । तीन वर्षअघि नै सम्पन्न हुनुपर्ने ३३÷११ केभी क्षमताको सव स्टेशन अझै पूरा नभएको हो । सव स्टेशन निर्माणमा भएको ढिलाइले जिल्ला पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन विस्तार तथा विद्युत् आपूर्ति प्रभावित भएको रनबाङका जीवन कार्कीले बताउनुभयो ।

पचासी प्रतिशत भौतिक प्रगति भएको आयोजना मिलनचोकदेखि रातोढुङ्ग जोड्ने प्रशारण लाइनको खम्बा गाड्न र तार तान्ने क्रममा विवाद भएपछि रोकिएको आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो । सव स्टेशनभित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

“छ सयमध्ये तीन ठाउँमा करिब ८० खम्बा गाड्न र तार तान्न बाँकी छ”, उहाँले भन्नुभयो, “बाँकी खम्बा गाड्न र तार तान्न नपाउँदा आयोजनाले पूर्णता पाउन सकेको छैन ।” खम्बा पर्ने जग्गाका धनी र वन समूहको अवरोधले पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रशारण लाइन निर्माण एक वर्षदेखि रोकिएको ढकालले बताउनुभयो ।

गाउँपालिका र स्थानीय प्रशासनमार्फत गरिएको पहल सफल नभएको जनाउँदै उहाँले तिहार लगत्तै पुनः छलफलका लागि आउने बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जिनीयरिङले रु आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सव स्टेशन प्रशारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुआति चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो ।

सव स्टेशन बनाउन सात रोपनी जग्गा अधिग्रहण गरिएको थियो । सव स्टेशन वरपरका जग्गाधनीले बाटो बनाउन, घेराबार पर्खाल लगाउन र प्रशारण लाइनको तार तान्न अवरोध गरेको ठेकेदारले बताएका छन् । बर्खामा केही ठाउँमा गाडेका खम्बा बगाएको छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको सम्बद्ध आयोजनाको बेवास्ता र निर्माण व्यवसायीको लापरवाहीका कारण अहिलेसम्म पूरा नभएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । “जग्गाधनी र वनलाई देखाएर उहाँहरुले काम रोक्नुभएको छ”, उहाँले भन्नुभयो, “सहजीकरण गरेर रोकिएको काम अघि बढाउन खोज्दा आयोजना र निर्माण व्यवसायी सम्पर्कमा आउनुभएन् ।”

एक वर्षपछि गत पुसमा काममा फर्किएका आयोजनाका अधिकारी, प्राविधिक, निर्माण व्यवसायी र मजदूर वैशाखमा निषेधाज्ञा भएपछि सम्पर्कविहीन बनेका रातोढुङ्गाकी तारादेवी रोकाले बताउनुभयो । उहाँले निर्माण व्यवसायीले स्थानीय होटलमा खाजा, खाना खाएको रकमसमेत नतिरी गएको गुनासो गर्नुभयो ।

सव स्टेशन र प्रशारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रशारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताउनुभयो ।

“हाल मिलनचोक सव स्टेशनबाट चार वटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “२० किलोमिटर दूरीसम्म एउटा सव स्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्तिमा समस्या भएको छ ।”