काठमाडौँ, १५ कात्तिक (रासस) : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले दीपावली, नेपाल सम्वत एवं छठपर्वको अवसरमा आज मनमैजुमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान एवं चियापान’ कार्यक्रममा उहाँले पार्टीको आगामी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
“हामी महाधिवेशनको क्रममा छौँ, पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्नुस्, कसैको दबाबमा नपर्नुस्, आफ्नो विवेक सही ढङ्गले प्रयोग गर्नुस्, प्रतिस्पर्धाको परिणाम सबैले स्वीकार्नुस्, त्यसो हुँदा पार्टी बलियो हुन्छ”, नेता सिटौलाले भन्नुभयो । पार्टीका पूर्वमहामन्त्री समेत रहनुभएका सिटौलाले न्यायालयभित्रको झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि प्रहार गर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
“कांग्रेसले मुलुकमा देखिएका जुनसुकै समस्याको पनि समाधान गरेको छ, आवश्यक परे न्यायालयको झगडामा पनि समाधान दिन सक्छ”, उहाँले भन्नुभयो । संविधानले देशको विकासको मोडललाई परिवर्तन गरेको भए पनि अघिल्लो सरकारले संविधानले दिएका विषय अगाल्न नसक्दा सरकार परिवर्तन भएको उहाँले उल्लेख गर्नुभयो ।
कांग्रेस नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनपछिको परिणाम स्वीकार नगर्दा विगतमा कांग्रेस कमजोर बनेको बताउनुभयो । उहाँले पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । कांग्रेस तारकेश्वरका सभापति कृष्णहरि महर्जनले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य नभएसम्म कांग्रेस बलियो हुन नसक्ने ठोकुवा गर्नुभयो । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेकालाई स्वागत गरिएको थियो ।
यो पनि – नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौँ, १५ कात्तिक (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक आज भने १७.७५ अङ्कले घटेर दुई हजार ८१९.८६ मा ओर्लिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८८ अङ्कले घटेर ५२८.५८ मा ओर्लेको हो । कूल २२६ कम्पनीको एक करोड ३४ लाख तीन हजार ३१२ कित्ता शेयर रु सात अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४.६९, होटल तथा पर्यटन ७.७९ र लगानी ०.३५ अङ्कले उकालो लागेको छ । यस्तै, व्यापार ४२.८४, विकास बैंक ४२.४९, जलविद्यसत् ७४.१९, वित्त ४३.८५, निर्जीवन बीमा ५४.५९, उत्पादन १२०.५६, अन्य २६.४२, लघुवित्त ९१.३२, जीवन बीमा ११५.७५ र सामूहकि लगानी कोष ०.१२ अङ्कले घटेको छ ।
कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३६ करोड ५८ लाख ७१ हजार २५९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह््यो ।
यस्तै आरएमडिसी लघुवित्त रु ३६ करोड ५६ लाख ५८ हजार ६०७, नबिल बैंक रु ३४ करोड ९९ हजार ४८०, कामना सेवा विकास बैंक रु २५ करोड १४ लाख ४४ हजार ९२२ र अरुण भ्याली हाइड्रोपावर कम्पनीको रु २१ करोड ३० लाख २४ हजार ३९८ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।
नेप्सेका अनुसार मानुसी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लाग्यो । साहस ऊर्जा ९.९८, पाँचथर पावर कम्पनी ९.९८, हिमालयन जनरल इन्स्योरेन्स ८.०८ र सिभिल बैंकका लगानीकर्ताले ६.०२ प्रतिशतले कमाए ।
यस्तै, कामना सेवा विकास बैंक ६.७२, हिमालयन पावर पार्टनर ५.५३, ग्रीनलाइफ हाइड्रोपावर ५.४६, रिडी हाइड्रोपावर ५.२५ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ५.०६ प्रतिशतले गुमाए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ६५ अर्ब ३२ करोड ४७ लाख चार हजार ७१४ बराबर पुगेको छ ।



प्रतिक्रिया