केन्द्रीय सुरक्षा समितिकोे अनौपचारिक बैठकले चाडबाडका समयमा भीडभाड बढ्न सक्ने भएकाले कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य र सुरक्षाका मापदण्डलाई व्यवस्थितरूपमा कार्यान्वयन गराउने निर्णय गरेको छ । कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको बैठकले सबै सम्बन्धित मन्त्रालय र निकायलाई मापदण्डलाई थप सजगताका साथ पालना गराउन आग्रह गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि निरौलाले जानकारी दिनुभयो । उहाँले लापरबाही गर्दा कोभिड बढेका विगतका अनुभवबाट पाठ सिक्नुपर्ने जनाउँदै हाल निषेधाज्ञा वा कुनै आदेश जारी भने नहुने बताउनुभयो ।
बैठकमा रक्षामन्त्री डा मीनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा नारायण खड्का, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सामान्य प्रशासन तथा सङ्घीय मामिलमन्त्री राजेन्द्र श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।
यो पनि – आज थप ५३३ जना सङ्क्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ५३३ मा सङ्क्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा ११ हजार ६६४ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित नौ हजार ३१८ जना पुगेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । सङ्क्रमण दर १८.४ प्रतिशत रहेको छ । सङ्क्रमति शून्य रहेका जिल्ला मनाङ र मुगु मात्र छन् ।
पछिल्लो २४ घण्टामा ४९० जनाले सङ्क्रमणबाट निको भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९२ हजार २७७ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.४ प्रतिशत रहेको छ । यसैगरी आज कोरोना सङ्क्रमणबाट नौ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४१६ जनाको निधन भएको छ ।
हाल कोरोना सङ्क्रमितहरू होम आइसोलेशनमा आठ हजार ५९८, संस्थागत आइसोलेशनमा ७२०, सघन उपचार कक्षमा २४१ र भेन्टिलेटरमा ७४ जना रहेका छन् । आज ६५ हजार २८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८६ लाख ७० हजार २४ जनाले पहिलो मात्रा र ७२ लाख ५२ हजार २८५ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।



प्रतिक्रिया