स्वास्थ्य मापदण्ड अपनाई घरमै अञ्जली मास्केले भाइटीका लगाइदिने

स्वास्थ्य मापदण्ड अपनाई घरमै अञ्जली मास्केले भाइटीका लगाइदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ कात्तिक (रासस) ः यस वर्ष अञ्जली मास्केले स्वास्थ्य मापदण्ड अपनाई घरमानै भाइटीका लगाई दिने बताउनुभएको छ । विश्वभरि फैलिएको कोरोनाको त्रास अझै बाँकी रहेको भन्दै उहाँले आउनका लागि आग्रह पनि नगर्ने र आएकालाई स्वास्थ्य मापदण्ड अपनाई ताहचलस्थित निवासबाट भाइटीका लगाउने बताउनुभएको हो ।

गत वर्ष पनि कोरोनाको कारण सामूहिक रुपमा टीका नलगाउनुभएको उहाँले यस वर्ष पनि धेरै भीडभाडको कार्यक्रम आयोजना नगरी सामान्य रुपमा औपचारिकता मात्रै निभाउन लागेको जानकारी दिनुभयो । कोभिड–१९ को महामारी हुनुभन्दा पहिले मास्केले ऐतिहासिक काष्ठमाण्डपबाट सामूहिक रुपमा भाइटीका लगाई दिँदै आउनुभएको थियो । गोर्खा भूकम्पको कारण पूर्ण रुपमा क्षति भएको ऐतिहासिक सम्पदाको पुनः निर्माण कार्य सम्पन्न नभएकाले र महामारीका कारण मास्केले यस वर्ष सानो समूहमा घरबाट नै भाइटीका लगाउन लाग्नुभएको हो ।

विसं २०५५ देखि भाइटीका लगाउँदै आएको बताउने उहाँले महामारीको कारण गत र यस वर्ष पनि भने जसरी टीका कार्यक्रम आयोजना गर्न नपाउँदा रमाइलो नभएको बताउनुहुन्छ । महामारी हुनुपहिले हरेक वर्ष २०८ जनालाई उहाँले टीका र आशीर्वाद दिने गरेको अनुभव सुनाउनुहन्छ । उहाँले भन्नुभयो, “दुई वर्ष जे भयो भयो आगामी वर्षमा सबैसँग रमाइलो गरेर काष्ठमण्डपमा सामूहिक टीकाको कार्यक्रम गर्न पाइयोस् भगवान्सँग कामना गर्छु ।” ७६ वर्ष उमेर बताउने मास्केले कोरोनाबाट जोगिन सबैको स्वास्थ्य ख्याल गर्दै आफूले यस वर्ष भीडभाड कम गरेको बताउनुभयो ।

भाइटीकामा रानीपोखरी १२ घण्टा खुल्ने

भाइटीकाका लागि यस वर्ष रानीपोखरी बिहान ६ देखि साँझ ६ बजेसम्म खुला गरिने भएको छ । भूकम्पका कारण क्षति भएको उक्त ऐतिहासिक सम्पदाको गत वर्ष कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः निर्माण सम्पन्न रानीपोखरीको उद्घाटन गर्नुभएको थियो ।उद्घाटनपश्चात् गत वर्ष पनि उक्त सम्पदामा सर्वसाधारणका लागि टीका लगाउन खुला गरिएको थियो । अन्य समयमा बन्द रहने उक्त पोखरी नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा भाइटीकाका दिन खुला गर्ने गरिन्छ ।

उक्त स्थानमा दाजुभाइ नभएको दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइहरुले सामूहिक रुपमा भाइटीका लगाउने गर्दछन् । यस वर्ष आगामी २० गते शनिबार भाइटीका परेको छ । यस सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनः निर्माण सम्पन्न भएको हो । उक्त दिन सर्वसाधारणले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर दर्शन गर्न पाउनेछन् ।

भूकम्पपछि पुनः निर्माण सम्पन्न नहँदासम्मको पाँच वर्ष हरेक वर्षको तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीको रहेको पुलको मुखमा राखी दर्शन गर्ने गरेका थिए ।भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनः निर्माणको सुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माण कार्य करिब पाँच वर्षभित्र सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७÷ई.सं. १६७०) मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।