धनतेरस पर्व नयाँ भाँडा खरिद गरी मनाइँदै

धनतेरस पर्व नयाँ भाँडा खरिद गरी मनाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखिँदैछ ।यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आरधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन समेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।

आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ । गत वर्ष जस्तो कोरोना त्रास नभएकाले पनि यस वर्ष भाण्ड त्रयोदशीका अवसरमा भाँडा पसलमा भीड लागेको हो । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तल लगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राखिएको छ ।

यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्या अनुसार यमदीप दान शुरु गरिँदै छ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । दीपावली, तिहार, यमपञ्चकजस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दशैँ पछिको दोस्रो ठूलो चाड हो । आजदेखि विधिवत् रुपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ ।