काठमाडौँ, १६ कात्तिक (रासस) : चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ । कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै
समस्याका कारण स्थगित भएको विभागले जनाएको छ । सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो । जतिसक्दो चाँडो त्यसको समस्या समाधान गरेर सेवा चालू गर्न खोजिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जतिसक्दो चाँडो भनेका छौँ कति दिन लाग्छ भन्न सकिँदैन ।”
अनुमतिपत्रका लागि आवेदन गर्दा नयाँ आवेदन र अर्काे अनुमतिपत्र लिइसकेकाको वर्ग थपिने गरिएको छ । नयाँ अनुमतिपत्रका लागि आवेदन दिँदा समस्या भए पनि अर्काे वर्ग थप्नेमा सबै विवरण भरेर फाइल बुझाउने समयमा समस्या देखिएको प्रवक्ता डा भुषालले बताउनुभयो । एकै पटक धेरै सेवाग्राहीले आवेदन भर्न खोजेकाले समस्या देखिएको हुनसक्ने उहाँले बताउनुभयो ।
नियमित रुपमा चालू नभएको सेवा खुलाउनाथ सेवाग्राहीको चाप हुने गरेको छ । विगतमा पनि अनलाइन फारम भर्दा पनि समस्या भइरहेको थियो । अहिलेको आवश्यकताअनुसार त्यसको क्षमता नभएको हुनसक्ने भन्दै प्राविधिकले ‘अपडेट’ गरिरहेको उहाँले बताउनुभयो ।
कोभिडका कारण झण्डै डेढवर्ष पहिलेदेखि अनुमतिपत्रको परीक्षा नियमित भइरहेको छैन । विसं २०७६ चैतदेखि सरकारले जारी गरेको बन्दाबन्दीका कारण परीक्षा स्थगित गरिएकामा झण्डै १० महिनापछि अनलाइन फारम खुलाइएको थियो ।
त्यो खुलाइएको केही समयपछि नै पुनः दोस्रो लहरका कारण पुनः सेवा स्थगित भयो । गत वैशाखदेखि काठमाडौँ उपत्यकाका तीनलगायतका जिल्लामा निषेधाज्ञाका कारण सेवा सञ्चालन हुनसकेको थिएन । सरकारले असारदेखि नै अरु क्षेत्र खुलाएको भए पनि यातायात व्यवस्था विभागले सङ्क्रमण बढ्नसक्ने भन्दै अनुमतिपत्र खुलाएको थिएन । उपत्यकालगायत देशभरमा अनुमतिपत्र लिन चाहनेको सङ्ख्या धेरै छ ।
यो पनि – विश्व नेताहरुको शिखर सम्मेलन जारी, प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता हुँदै
–विशेष प्रतिनिधि भीष्मराज ओझा, ग्लास्गो, १६ कात्तिक (रासस) ः जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ ।
सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । मङ्गलबार राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सम्बोधन सम्पन्न भएसँगै सम्मेलन समापन गरिने तालिका रहेको छ ।
सम्मेलनमा विश्वका कूल ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गर्ने तालिका रहेको छ । प्रधानमन्त्री देउवाले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछिको यो उहाँको पहिलो विदेश भ्रमण हो । आजै प्रधानमन्त्री देउवासँग श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले भेटवार्ता गर्नुहुनेछ । यसैगरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्नुहुनेछ ।
सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रबार राति संयुक्त अधिराज्य आउनुभएको थियो । अक्टोबर ३१ देखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।
नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पेमनारायण कँडेल, गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदीलगायत अन्य उच्च अधिकारी, निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना हुनुहुन्छ ।



प्रतिक्रिया