चितवन, १६ कात्तिक (रासस) : सरकारी र निजी क्षेत्रको सहकार्यमा निर्माण गरिएको यहाँको चितवन–चनौली शीतभण्डार सञ्चालनको तयारीमा पुगेको छ । भरतपुर महानगरपालिका–१८ शीतभण्डार निर्माण गरिएको हो । संस्थाले ७ कठ्ठा जमिन खरिद गरेर विसं २०७० वैशाख २७ गते बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको थियो । संस्थाका अध्यक्ष सूर्यमणि पौडेलका अनुसार सुरुमा भवन रु आठ करोड ७७ लाखमा निर्माण सम्झौता गरिएकोमा नक्साङ्कन परिवर्तनसँगै रु दुई करोड रकम थप भएको थियो ।
भवनमा रु दुई करोड ४२ लाखको उपकरण जडान गरी परीक्षण सम्पन्न गरिएको छ । उहाँका अनुसार ट्रान्सफरमर र लिफ्टबाहेक अन्य काम सम्पन्न भएको छ । दुई हजार ५०० मेट्रिकटन क्षमताको यस शीतभण्डार आउँदो पुसबाट व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । शीतभण्डारको क्षमताको आधा भागलाई व्यावसायिक रुपमा प्रयोगमा ल्याइँदै छ भने बाँकीलाई शेयर सदस्य र किसानलाई सर्वसुलभ रुपमा दिइने छ ।
संस्थामा ८७९ जना शेयरधनी रहेका छन् । शेयर पूँजी रु ६ करोड ७५ लाख र सरकारी अनुदान रु ६ करोड १४ लाख प्राप्त भएको उहाँले जानकारी दिनुभयो । सहकारी विभागले रु ५ करोड ४८ लाख, बागमती प्रदेशले रु ५८ लाख ५९ हजार र भरतपुर महानगरपालिकाले रु ४ लाख ८३ हजार सहयोग गरेको छ । सहकारी विभागबाट सम्झौता भए अनुरुपको थप रकम आउन बाँकी रहेको पौडेलको भनाई छ । संस्थाले शेयर पुँजी रु १० करोड पु¥याउने लक्ष्य लिएको छ । केही साना शेयरधनीलाई रकम थप गर्न लगाएर रु एक लाख देखि सात लाखसम्मको शेयर बनाउने योजना बनाइएको छ ।
उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतमले यो शीतभण्डार सञ्चालनमा आएसँगै चितवन र छिमेकी जिल्लाका किसान प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउनुभयो । किसानले मूल्य नपाएर आफ्नो उत्पादन सस्तोमा बिक्री गर्नुपरेको र कतिपय समयमा फाल्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले यसले ती किसानलाई लाभ पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले आवश्यक सहयोग गरेर न्यून शुल्कमा भण्डार गर्ने व्यवस्था मिलाउनु पर्छ ।”
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे देशको सम्वृद्धिका लागि कृषि क्षेत्रको विकास अपरिहार्य भएको भन्दै यस्ता शीतभण्डारले किसानको उत्पादनले बजार र उपयुक्त मूल्य पाउने बताउनु हुन्छ । कृषकले लागत मूल्य समेत नपाउँदा विदेशीनु परेको भन्दै उहाँले सरकारले शीतभण्डार सञ्चालनमा सहयोग गरेर सर्वसुलभ रुपमा भण्डारणको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । प्रविधिको विकास गरी कम लागतमा धेरै उत्पादन गरेर बजारको अवस्था हेरी भण्डारण र बिक्री गर्न उहाँले सुझाव दिनुभयो ।
यो पनि – सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने
दमौली, १६ कात्तिक (रासस) : तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । कृषकले उत्पादन गरेको दूधलाई बजारीकरणमा सहयोग पु¥याउन सहकारी संस्थाले शुक्लागण्डकी–२ गाछेपानीमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो ।
दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपङ्क्षी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको छ । सहकारीले गाछेपानीमा प्रशोधन केन्द्र निर्माण गर्ने र आगामी साउनसम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिनुभयो ।
उहाँका अनुसार रु ९९ लाख २९ हजार तीन सयको लगानीमा प्रशोधन केन्द्र सञ्चालन हुनेछ । त्यसका लागि सहकारीले रु १९ लाख ४० हजार छ सय ४७ लगानी गर्र्नेछ भने राष्ट्रिय सहकारी बैङ्क दमौली शाखाले रु ३० लाख २४ हजार तीन ऋण लगानी गर्नेछ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाईले रु ४९ लाख ६४ हजार छ सय ५० रुपैयाँ अनुदान उपलब्ध गराउने सहमति भएको छ ।
गुणस्तरीय दूध, दही, घ्यु, पनिर, आईसक्रिम बनाउने र प्याकेजिङ गर्नलाई आवश्यक यन्त्र उपकरण प्रशोधन केन्द्रमा जडान हुनेछ । कच्चा पदार्थ खरिद, ढुवानी, बजार प्रबद्र्धन र बीमामा परियोजनाको सहयोग रहने सहकारीले जनाएको छ ।
शुक्लागण्डकी –१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारीले दुलेगौडाबाट सेवा कार्यालय सञ्चालन गरेको छ । विसं २०७४ मा स्थापित सहकारीमा दुई हजार चार सय ७५ शेयर सदस्य छन् । सहकारीले खैरेनीटार बजारमा पनि सेवा कार्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।
किसानले गरेको उत्पादनलाई गुणस्तरीय र ब्राण्ड बनाएर बजारीकरणमा सहयोग पु¥याउन परियोजना सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । सहकारीले पशुपालनका निम्ति कृषकलाई बिनाधितोमा कर्जा लगानी गर्दै आइरहेको छ । सहकारीमार्फत् ऋण लिएकाहरुले गाईभैसी फार्म सञ्चालन गरिरहेका छन् ।सहकारीले शुक्लागण्डकी नगरक्षेत्रका किसानले उत्पादन गरेको एक हजार दुई सय लिटर दूध दैनिक रुपमा बजारमा विक्रीवितरण गरिरहेको छ ।



प्रतिक्रिया