मन्त्री बडू र स्विस राजदूत डिप्रेजबीच भेटवार्ता

मन्त्री बडू र स्विस राजदूत डिप्रेजबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक (रासस) :  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि स्विस राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । गत सोमबार मन्त्रालयमा भएको वार्तामा मन्त्री बडूले नेपाल र स्विजरल्यान्डबीच प्रगाढ मित्रताको सम्बन्ध सदैव रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले स्विजरल्यान्ड सरकारले लामो समयदेखि नेपालमा पूर्वाधार विकासका अतिरिक्त सामाजिक, आर्थिक, न्यायिक तथा सुशासनका क्षेत्रमा सहयोग, सहकार्य र समन्वय गर्दै आएको चर्चा गर्नुभयो । वर्तमान सरकारको न्यूनतम् साझा कार्यक्रममा उल्लेख भएअनुरूप सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी कार्यहरु छिटै अघि बढाइने पनि मन्त्री बडूले जानकारी दिनुभयो ।

राजदूत डिप्रेजले नेपालको सामाजिक, आर्थिक र न्यायिक विकास एवं सुशासन प्रवद्र्धनमा स्विजरल्यान्ड सरकारको सदैव सहयोग रहने बताउनुभयो । उहाँले आगामी दिन दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन आफ्नो सकारात्मक भूमिका रहने विश्वास दिलाउनुभएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यो पनि – साहसिक खेलप्रेमीको रोजाइमा ‘क्यानोनिङ’

– जमुना वर्षा शर्मा, पोखरा, १६ कात्तिक (रासस)ः पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेसँगै क्यानोनिङ गर्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ । कास्कीको माछापुच्छ«्रे गाउँपालिका–९ मा रहेको झरनामा क्यानोनिङ गर्ने बढ्न थालेको सञ्चालक राम गुरुङले जानकारी दिनुभयो । “दसँै–तिहारको बिदामा पोखरा घुम्न आउने साहसिक खेलप्रेमी पर्यटकले क्यानोनिङप्रति राम्रो रुचि देखाउनु भएको छ, अहिले दैनिकजसो १५÷२० जना आउनुहुन्छ”, उहाँले लामो समय कोरोनाका कारण बन्द रहेको क्यानोनिङ सञ्चालनमा आएसँगै खेलको मज्जा लिनेको सङ्ख्या पनि बढ्दै गएको बताउनुभयो ।

कोरोनाका कारण एउटै दिनचर्यामा समय व्यतित गरिरहेका अधिकांशले क्यानोनिङ गर्दा आनन्द अनुभव गरेर फर्कने गरेको सञ्चालक गुरुङले सुनाउनुभयो । क्यानोनिङ चट्टानको पहारामा डोरीको सहायताले ‘वेट सुट’ लगाएर पानीको छहरा छाँगाबाट चिप्लिँदै, हाम फाल्दै झर्ने एक प्रकारको साहसिक खेल हो ।

दसँै–तिहारको समयमा क्यानोनिङका लागि आफ्ना साथीहरुसहित कुदी छहरा पुग्नुभएकी पोखराकी दीपा पौडेलले प्राकृतिक छहरामा रमाउन पाउँदा डरभित्र नै आनन्दको महसुस गरेको अनुभव सुनाउनुभयो । “सुरुमा त पानीको छहराको दवाब, अनि चट्टानमा खुट्टा चिप्लिँदा डर पनि लाग्यो, बिस्तारै गाइडहरुले भने जस्तै डोरीको सहायताले झर्दै जाँदा भने निकै आनन्द अनुभूति भयो ।” उहाँले क्यानोनिङपश्चात् मानसिक र शारीरिक स्फुर्ति पाएको अनुभव सुनाउनुभयो । पौडेलले साहसिक खेल भएकाले आफूभित्रको डरलाई हटाएर आत्मविश्वास जगाउन पनि यस्ता गतिविधि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँसँगै क्यानोनिङ गर्नुभएकी पोखराकी सौन्दयकर्मी रचना अधिकारीले पनि पहिलोपटक क्यानोनिङ गर्दा निकै आनन्द र रमाइलो अनुभव गरेको सुनाउनुभयो ।

“मलाई प्राकृतिक कुरामा रमाउन निकै मन पर्छ, यो ठाउँ पनि निकै शान्त रहेछ । चराचुरुङ्गीको चिरबिर आवाजसँगै कलकल बगेको छहरामा डोरीको सहायताले झुण्डिएर पानीमा भिज्नुको मज्जा नै बेग्लै, मलाई निकै आनन्द लाग्यो ।” अधिकारीले पनि आफूभित्रको डर हटाउन र मानसिक स्फुर्तिका लागि क्यानोनिङ गर्दा राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चालक गुरुङका अनुसार पहिलोपटक क्यानोनिङ गर्न चाहनेहरुका लागि प्रारम्भिक रुपमा डेमो देखाउने, सिकाउने मानसिक रुपमा तयार गर्ने व्यवस्था गरिएको छ । त्यसका लागि गाइडहरुले नै सबै परामर्शसहित डेमो देखाउँछन् । आकस्मिक उद्धारका लागि पनि गाइडहरु तैनाथ रहन्छ । एक पटकमा १४ जनाका लागि क्यानोनिङ गर्ने उपकरणहरु उपलब्ध रहेको गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग एकचोटिमा १४ जनालाई पुग्ने आवश्यक सामग्री मात्र छ । क्यानोनिङ गर्दा चिप्लिने, हामफाल्ने, पौडिने र झर्ने जस्ता गतिविधि हुने भएकाले यो जोखिमपूर्ण पनि मानिन्छ ।” उहाँले साहसिक खेलका लागि क्यानोनरलाई हेलमेट, हार्नेस, वेटसुट, डोरी, जुत्ता लगायनका सामग्रीको प्रबन्ध गरिने बताउनुभयो । पछिल्लो समय शनिबार र बिदाको दिन क्यानोनिङ र छहरा हेर्न आउनेको सङ्ख्या पनि निकै बढेको उहाँको भनाइ छ । कुदी छहरामा क्यानोनिङका लागि दुईवटा ७५ र ४५ मिटर अग्ला सुन्दर झरना छन् । झरनाको सुन्दर दृश्य हेर्ने र टिकटक बनाउनेहरु त्यहाँ पुग्ने गरेका छन् ।

पोखरामा क्यानोनिङ सन् २०१४ बाट सञ्चालनमा आएको हो । पोखराको हरिचोकबाट करिब २२ किलोमिटरको दूरीमा रहेको ल्वाङघलेल गाउँको मुनि कुदी छहरा रहेको छ । क्यानोनिङका लागि तीन तहका प्याकेज छन्, क्यानोनिङ मात्र, ‘डे ट्रिप’ र ‘ओभर नाइट ट्रिप’ गरेर रु दुई हजार ४०० देखि रु चार हजार ९०० सम्म शुल्क तोकिएको छ । साहसिक खेलमा रुचि राख्ने जो शारीरिक र मानसिक रुपमा तयार छन् उनीहरुलाई ‘बिगीनर’ र ‘प्रोफेसनल’ गरेर छुट्याइन्छ र झरनामा रम्ने वातावरण तयार गरिन्छ ।