प्राङ्गारिक मिसन अभियान हुने

प्राङ्गारिक मिसन अभियान हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खलङ्गा, १६ कात्तिक (रासस) : कर्णाली प्रदेश सरकारले गरेको कर्णालीलाई प्राङ्गारिक अर्गानिक क्षेत्र घोषण गर्ने निर्णय कार्यान्वयन गर्न जुम्लामा अर्गानिक मिसन अभियान सुरु गर्ने भएको छ । सोही अन्तर्गत कृषि विकास कार्यालय जुम्ला, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेत र खाद्य तथा कृषि सङ्गठन जुम्लाले जिल्लामा आज प्राङ्गारिक मिसन तयारी गोष्ठी गरेको छ ।

व्यावसायिक प्राङ्गारिक तथा रैथाने बालीको उत्पादन र बजारीकरण बीचको दूरीलाई कम गर्दै विशेष प्राङ्गारिक मूल्य शृङ्खलाको विकास गर्ने उद्देश्यका साथ अभियान गोष्ठी गरेको हो । जुम्लाका अगुुवा किसान, पत्रकार, अर्गानिक कृषि अभियन्ता लगायतको उपस्थितिमा जिल्ला सदरमुकाम जुम्ला बजारमा आयोजित एक दिने गोष्ठीमा अर्गानिक जिल्लामा उत्पादन भएका कृषिजन्य वस्तुलाई बाह्य बजारसम्म प्रमाणीकरण गरी बिक्री गर्ने विषयमा छलफल गरिएको छ ।

कर्णाली प्रदेश सकारकाले १५ वर्षे प्राङ्गारिक कृषि योजना समेत तयार गरेको छ । प्राङ्गारिक खेतीको अभ्यास, उत्पादन सामग्री तथा प्राविधिक सेवा विस्तार गर्ने लक्ष्य रहेको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखाका कृषि प्रसार शाखा अधिकृत धनबहादुर कठायतले बताउनुभयो ।

प्राङ्गारिक कृषि उत्पादनमा वृद्धि गर्ने र हरित अर्थतन्त्रमा आधारित समृद्धि ल्याउने सोच प्रदेश सरकारको रहेको छ । प्राङ्गारिक कृषि प्रणालीको माध्यमबाट कृषि पेशालाई व्यावसायिक र प्रतिस्पर्धी बनाइ किसानको जीवनस्तरमा सुधार गर्ने लक्ष्यका साथ कर्णाली प्रदेश प्राङ्गारिक कृषि ऐन २०७६ समेत जारी भइसकेको कृषि प्रसार शाखा अधिकृत कठायतले बताउनुभयो ।

उत्पादक र उपभोक्तालगायतका सरोकारवालाको सहभागितामा स्थानीय परिवेश अनुसार उत्पादित तरकारी, खाद्यान्न तथा फलफूल विषादीरहित उत्पादनमा जोड दिइएको छ । अर्गानिक उत्पादनलाई ध्यान दिँदै रासायनिक विषादी प्रयोग नगरी अर्गानिक जिल्लाको पहिचान यथावत् राख्नुपर्ने मन्त्रालयको योजना महाशाखा अन्र्तगत कृषिप्रसार शाखाले जनाएको छ । विषादीको प्रयोग बढ्दै जाँदा बजारमा स्वस्थ र खानयोग्य फलफूल, ताजा तरकारीलगायत खाद्य वस्तु पछिल्लो समयमा पाउन मुस्किल भइसकेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताउनुभयो ।

कृषि क्षेत्रको नीति बनाउनको लागि सुझाव लिने र नीति निर्माण गर्ने तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । रासायनिक मलको सट्टा जैविक मल प्रयोग गरेर विभिन्न बालीको खेती गर्न सकिने पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो ।

यहाँको रैथाने बाली संरक्षण गरे मात्र जिल्ला आत्मनिर्भर हुनेदेखि कोदो, फाँपर, उवा, ओखर, सिमी, चिनो, कागुनो धेरै उत्पादन गर्न सकिने सम्भावना रहेको छ । आर्गानिक मिसन सफल पार्न तथा रैथाने बाली अर्गानिक खेती प्रविधिमा विस्तार गर्दै बीउ संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।