हेटौँडा, १६ कात्तिक (रासस) : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र पुस्तान्तरण भन्दा पनि रुपान्तरणको खाँचौ औल्याउँदै केही जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद अझै निरुपण हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेस मकवानपुरले हेटौँडामा आज आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीका नेता कार्यकर्ताले नेतृत्व र विपक्षीलाई समेत प्रश्न गर्न सक्नुपर्ने बताउँदै कांग्रेसले केही व्यक्तिको मात्र नभई सिंगो देश र जनताको मुद्वा उठाउनुपर्ने बताउनुभयो । “ काँग्रेस अरुको भरमा उभिने पार्टी होइन, पार्टीभित्र शुद्धिकरणको आवश्यकता छ”, उहाँले भन्नुभयो ।
एकपछि अर्को समस्याका कारण सर्वोच्च अदालतमा अहिलेको अवस्था सिर्जना भएको उहाँको भनाइ थियो । वरिष्ठ नेता पौडेलले न्यायालयको साख जोगाउन अहिलेको समस्याको निकास चाँडै हुनपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ लगायतले बोल्नुभएको थियो ।
यो पनि – पन्ज्युनयाँ क्रिकेट : शुसितम र कैलपाल उपाधिका लागि भिड्दै
बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनल भीडन्त आज हुँदैछ । उपाधिका लागि आयोजक शुसितम युवा क्लब र कैलपाल क्रिकेट क्लब भिड्दै छन् ।
शुसितम सेमिफाइनमा गोकुलेश्वर स्टार क्लब चौसेरालाई १३२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । कैलपालले जागृति युवा क्लब, सर्मोलीलाई चार विकेटले हराउँदै उपाधि नजिक पुगेको हो । शुसितमका लागि कप्तान गोपाल कार्की, सुदीप कार्की, अशोक कार्की र जनक कार्की मुख्य खेलाडी हुन् । यस्तै कैलपालका लागि प्रदीप चन्द, महेश चन्द र राजु भाट भरपर्दा खेलाडी हुन् । उपाधि जित्न दुवै टोलीको ध्यान यी खेलाडीलाई चल्न नदिने हुनेछ ।
शुसितम लिग चरणमा कैलपालसँग सात विकेटको हारको बदला लिने रणनीतिमा छ भने कैलपाल उपाधि रक्षा गर्ने दाउमा छ । घरेलु मैदान र दर्शकको साथले शुसितम च्याम्पियन बन्ने प्रबल सम्भावना छ । यसका साथै गत महिना गोकुलेश्वरमा सम्पन्न दोस्रो संस्करणको खुला गोकुलेश्वर टि–२० क्रिकेट च्यालेञ्ज प्रतियोगिताको फाइनल खेलमा कैलपालसँग सुपरओभरमा हारेको बदलासमेत लिने अवसर शुसितमलाई छ ।
सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा यही कात्तिक ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा बैतडी र दार्चुलाका गरी १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु ७७ हजार ७७७ र उपविजेताले रु ३३ हजार ३३३ पुरस्कार प्राप्त गर्ने सुशितम युवा क्लबका उपाध्यक्ष हेमन्तसिंह कार्कीले जानकारी दिनुभयो । यस्तै म्यान अफ द सिरिजलाई रु पाँच हजार ५५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई रु तीन हजार ३३३ प्रदान गरिने छ । यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि वीरेन्द्र नाथको कप्तानीमा रहेको दोगडास्टार क्लब, दोगडाकेदारले जितेको थियो ।



प्रतिक्रिया