‘न्याय क्षेत्रको समस्या समाधान गर्न प्रधानन्यायाधीशले विवेकसम्मत निर्णय गर्नुपर्छ’

‘न्याय क्षेत्रको समस्या समाधान गर्न प्रधानन्यायाधीशले विवेकसम्मत निर्णय गर्नुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले न्यायपालिकामा देखिएको समस्या समाधान गर्न प्रधानन्यायाधीशले विवेकसम्मत निर्णय गर्नुपर्ने बताउनुभएको छ ।मानव अधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा उहाँले न्यायपालिकामा भएका विषयमा बोल्नै हुँदैन भन्ने सोच लोकतान्त्रिक हुन नसक्ने बताउनुभयो । “न्यायाधीशको निर्णयलाई मान्नुपर्छ तर यसको अर्थ न्यायपालिकामा भएका विकृतिका विषयमा बोल्न पाइन्न भन्ने होइन, सबै निकाय जवाफदेही र उत्तरदायी हुनुपर्छ, समाजलाई पनि जवाफदेही र उत्तरदायी बनाउन नसकेसम्म राजनीति गर्नेले भाषण गरेरमात्र केही हुन्न”, उहाँले भन्नुभयो ।

नेता कोइरालाले देश भद्रगोल अवस्थामा पुगेकाले सबै निकाय जिम्मेवार भएर काम गर्नुपर्ने उल्लेख गर्दै आफूले नगर्ने अरुलाई मात्र भन्ने प्रवृत्तिले कुनै उपलब्धि नहुने बताउनुभयो । महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङलाई समाजद्वारा स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कार २०७८ आज आयोजित कार्यक्रममा प्रदान गरिएको छ । वर्ष २०७८ को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङलाई प्रदान गरिएको छ ।

यसैगरी चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा डा वेणीमाधव ढकाल, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान रामरिझन यादव, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी, मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्त, गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी, जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङ, राधादेवी दाहाल स्रष्टा सौगात मनु विक, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य, पद्मप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल र वर्ष २०७७ को राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान निलम कार्की निहारिकालाई प्रदान गरिएको हो ।

कांग्रेस नेता कोइरालाले पुरस्कृत स्रष्टालाई रु २० हजार नगद राशिसहित ताम्रपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा पुरस्कृत स्रष्टाले कविता प्रस्तुत गर्नुभएको थियो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा समाजका सभापति गोविन्द खनाल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ लगायतले समाजका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।

शान्ति समाजले मङ्गलबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान स्रष्टा विष्णुलाल कुमाल र श्रीनारायण दाहाल स्रष्टा सौगात स्रष्टा रविना चौधरीलाई प्रदान गरिएको थियो । यसैगरी कात्तिक १२ गते इटहरीमा आयोजित कार्यक्रममा स्रष्टा मनु मञ्जिललाई भूमिप्रसाद बराल स्रष्टा सौगात प्रदान गरिएको थियो ।