जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री छन् ।
त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक हुन् । घाइतेको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । ट्र्याक्टर नम्बर भने खुल्न सकेको छैन ।
यो पनि – बाढी पहिरामा ज्यान गुमाएका परिवारलाई राहत
गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढीपहिरामा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा पुगेर राहत रकम प्रदान गर्नुभएको हो ।
बाढीपहिरामा ज्यान गुमाएकालाई प्रतिपरिवार रु दुई लाखका दरले रकम प्रदान गरिएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि राहत वितरण गरिने प्रजिअ विष्टले बताउनुभयो । सायल गाउँपालिका–१ रोकाया गाउँका वीरे रोकाया, वडा नं ४ भल्माका जङ्ग विष्ट, वडा नं ५ डुमरीका हिरुवा लुहार र सोही वडा भालुमेलाका देव डुम्रेलका परिवारका सदस्यलाई रु दुई दुई लाख तथा वडा नं ६ अम्ततोडाका आशिष कुञ्जेडा र सागर कुञ्जेडाका बुवा दिलबहादुर कुञ्जेडालाई रु तीन लाख हस्तान्तरण गरिएको छ ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले पीडित परिवारलाई भाँडाकुँडा, कम्बल र लुत्ताकपडा प्रदान गरेको छ । यस्तै शिखर नगरपालिका–११ मा बाढीपहिरामा परी मृत्यु भएकी मन्धरी वलायरका आफन्त, वोगटान गाउँपालिका–५ का मृतक चनरी नेपालीका श्रीमान् इन्द्र नेपालीलाई समेत राहत रकमको चेक हस्तान्तरण गरिएको छ । जिल्लामा बाढीपहिराबाट १५ जनाको मृत्यु भएको थियो भने एक बेपत्ता छन् । अहिलेसम्म कम्तीमा रु एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।



प्रतिक्रिया