काग तिहार मनाइदै

काग तिहार मनाइदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक (रासस) : कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चीजबिज खान दिएर मनाइदै छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक सुरु भएको छ । कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म नेपालीले दोस्रो ठूलो पर्वका रूपमा तिहार मनाउने गर्छन् ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा मीठा खान दिई खुशी पार्ने गरिएको उहाँले बताउनुभयो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान दिने क्रम आज साँझ पनि जारी रहन्छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ । मङ्गलबार अपराह्नदेखि नै कार्तिक कृष्ण त्रयोदशी सुरु भएकाले आज बिहान पहिलो प्रहरमै कागलाई मीठा मीठा चीजबीज खान दिएर सम्मान गरिएको छ ।

यो पनि – अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ : अर्थमन्त्री शर्मा

किमाथाङ्का, १७ कात्तिक (रासस) : अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताउनुभयो । खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताउनुभयो । नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको सो अवसरमा उहाँले जानकारी दिनुभयो ।

“अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ”, मन्त्री शर्माले भन्नुभयो । व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको मन्त्री शर्माको भनाइ थियो ।