‘भूमिहीनलाई चाँडै लालपुर्जा दिइन्छ’

‘भूमिहीनलाई चाँडै लालपुर्जा दिइन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले अब छिट्टै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिने बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आज भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणसम्बन्धी अन्तरक्र्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार छिट्टै लालपुर्जा वितरणको तयारीमा लागेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले यसअघि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न विभिन्न कालमा बनेका आयोगले गरेका कामको सम्पूर्ण स्वामित्व सरकारले लिने बताउनुभयो । “राम्रो कामलाई राम्रो भन्नुपर्छ, यसअघिको सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न गरेको प्रयत्नलाई वर्तमान सरकारले अघि बढाउँछ”, मन्त्री श्रेष्ठले भन्नुभयो । यद्यपि अहिले मिति नै तोकेर जग्गाधनी प्रमाणपुर्जा वितरण हुने दिन तोक्न नसकिने उहाँको भनाइ छ ।

“अहिले गठबन्धनको सरकार छ, दोहोरो चरित्र देखाउनु हँुदैन”, मन्त्री श्रेष्ठले भन्नुभयो, “सस्तो लोकप्रियताका लागि हचुवामा घोषणा गरेर झुठो बन्नु ठीक हुन्न ।” दलहरुले चुनावताका गरेको वाचा पूरा गर्नु पर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिवास नगरक्षेत्रमा नापजाँचको काम सम्पन्न भइसकेको र तथ्याङ्क प्रविष्ट गर्ने कार्य अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । नापी कार्यअन्तर्गत नौ हजार ४५९ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिएको कार्कीको भनाइ छ । सरकारले अब यहाँको लालपुर्जा वितरणमा ढिलाइ गर्न नहुने कार्कीले मन्त्री श्रेष्ठसँग आग्रह गर्नुभयो । विसं २०५६ मा बनेको आयोगले अवैधानिक तवरले वितरण गरेको लालपुर्जा भने खारेज गर्नुपर्ने कार्कीको माग छ । कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहाल, प्रदेशसभा २ सदस्य शारदादेवी थापा र नापी विभागका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

यो पनि – ‘विधिको शासनमा विश्वास गर्नुपर्छ’

नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनका बारेमा आफ्नो गहिरो विश्वास रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित शुभकामना कार्यक्रममा उहाँले ‘वर्तमान संविधान सबै राजनीतिक शक्तिको सहमतिको दस्तावेज हो’ भन्नुभयो । उहाँले सबै नेपालीलाई आफ्ना असन्तुष्टि, टीकाटिप्पणी र आलोचना गर्ने अधिकार यही संविधानबाट प्राप्त भएको प्रसङ्ग उल्लेख गर्दै प्रमुख दलका नेताले निर्वाचनको अवसरमा जनताका घरआँगनमा पुग्दा सबै समस्या समाधान गर्ने भनेर आश्वासन दिए पनि त्यसो नभएको चिन्ता व्यक्त गर्नुभयो ।

उपसभापति गच्छदारले २०७२ साल २५ गते चार दलका नेताबीच १६ बुँदे सहमतिलाई आत्मसात् गर्न कसैले पनि हिच्किचाउन नहुने भन्दै थारु, आदिवासी, जनजाति, दलित, मधेशी, महिला र मुस्लिमलगायत हिमाल, पहाड, तराई मधेशमा बसोबास गर्ने सबैलाई विश्वास गर्नुपर्ने बताउनुभयो । उहाँले लामो राजनीतिक यात्रामा जहिले पनि देश, जनता र लोकतन्त्रको लागि लडेको चर्चा गर्दै स्वतन्त्रता प्राप्तिका लागि रगत पसिना बगाएका त्याग र बलिदान गर्ने साथी उपेक्षित भएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

उहाँले आफूले रगत र पसिना बगाएर हुर्काएको पार्टी नेपाली कांग्रेसमै सङ्गठित भएर लोकतन्त्रको संस्थागत विकास गर्ने अभियानमा फेरि पनि सक्रिय भएर लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले आगामी महाधिवेशनले पार्टीमा देखिने गुटउपगुटलाई समाप्त पार्न विधानमा संशोधन हुनुपर्ने जिकिर गर्दै नेपाली कांग्रेसलाई बलियो बनाउन भनेर नै आफ्ना तत्कालीन पार्टीका सबै साथी एवं कार्यकतालाई लिएर विधिवत् रुपमा नेपाली कांग्रेससँग एकीकरण गरेको स्पष्ट पार्नुभयो ।