दुई अर्ब बढी राजस्व छलीका १७ मुद्दा दर्ता

दुई अर्ब बढी राजस्व छलीका १७ मुद्दा दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा दर्ता गरेको छ । विभागले आज एक सूचना जारी गरी ती कम्पनी र व्यवसायीविरुद्ध रु दुई अर्ब ३६ करोड बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ । विभिन्न मितिमा दायर मुद्दामा झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा ती फर्मका सञ्चालक, प्रोप्राइटर तथा मुख्य अभियुक्तबाट रु दुई अर्ब ३६ करोड ४५ लाख बिगो असुलउपर गरी जरिवाना र कैद सजायको माग गरिएको छ । सबै मुद्दा उच्च अदालत पाटनमा दर्ता गरिएको जनाइएको छ ।

विभागका अनुसार यसरी प्रतिवादी बनाइएकामा सङ्ग्रिला ट्रेड एण्ड सप्लायर्स, महालक्ष्मी ट्रेड कन्सर्न, चन्दन सप्लायर्स, हनुमान सप्लायर्स, डिलाइट इन्टरप्राइजेज प्रालि, जिएम इम्पोर्ट एण्ड एक्सपोर्ट, पिआर निर्माण सेवा, डिएन इन्टरनेशनल, हिमालयन नेपाल सप्लायर्स, श्रीआरपी ट्रेडर्स, इन्फ्राटेक प्रालि, शाकीर अली, नितिश इम्पेक्स, मोर्गन ट्रेड लिङ्क, राइज अटो ट्रेड प्रालि रहेका छन् ।

यो पनि – कामपामा ८०० रोपनी सार्वजनिक जग्गा पहिचान

काठमाडौँ महानगरपालिकाले हालसम्ममा ८०० रोपनी सार्वजनिक जग्गा पहिचान भएको जनाएको छ । आज वडा नं ३१ को जागृतिनगरमा बाल उद्यान शिलान्यास कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने नीतिअनुसार अहिलेसम्म करिब ८०० रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको जानकारी दिनुभयो । “सार्वजनिक महत्वका जग्गा संरक्षण गर्ने हाम्रै काम हो”, प्रमुख शाक्यले भन्नुभयो, “अब हामी अतिक्रमित जग्गालाई खुला बनाउँछौँ । त्यसपछि स्वामित्व दाबी गर्ने आउन थाल्छन् ।”

कार्यक्रममा ३१ वडाका वडाध्यक्ष नारायण भण्डारीले आफ्नो वडामा ३१ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको जानकारी दिँदै उक्त जग्गालाई संरक्षण गरी सामाजिक उपयोगमा ल्याउने बताउनुभयो । बागमती नदी किनारामा रहेको करिब छ रोपनी जग्गामध्ये वरिपरि सडकलाई छोडेर बाँकी रहेको करिब पाँच रोपनी क्षेत्रफलमा बाल उद्यान निर्माण हुनेछ । उक्त उद्यानको निर्माणको कामपा जलपा निर्माण सेवाले रु ७७ लाख २२ हजार ८१३ मा गर्ने पनि कार्यक्रममा जानकारी गराइएको छ ।