मुक्तकमार्फत भाइटीकामा जुवातास रोक्न सन्देश

मुक्तकमार्फत भाइटीकामा जुवातास रोक्न सन्देश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुशीला रेग्मी, रामपुर (पाल्पा), १८ कात्तिक (रासस) :

नसोध्नु है जुवा र तास तिहार भनेर । राख्नु थोरै भए पनि बचत गनेर ।। घाँटी हेरी हाड निलौँ अनावश्यक रवाफ दिनुभन्दा । गरौँ दान पीडितलाई ज्ञानी बनेर ।।

साहित्य स्रष्टा नारायण चापागाईंको यो मुक्तकका शब्दले सामाजिक सन्देश बोकेको छ । यसमा तिहारमा खेलिने जुवातास र फजुल खर्चमाथि व्यङ्ग्य प्रहार गरिएको छ । चाडपर्वका नाममा गरिने तडकभडक र जुवातास खेलेर धनको नाश गर्ने परिपाटीलाई निरुत्साहित गर्न श्रष्टा चापागाईंको मुक्तकका शब्दले सन्देश दिएको छ ।

तिहारलाई व्यङ्ग्य प्रहार गर्दै उहाँ मुक्तकमार्फत लेख्नुहुन्छ, तिहारमा जुवातास नखेले नि मिल्ने बनाउनुछ । विष पनि पिउन मिल्ने अमृत बनाउनु छ ।। म अब यस्तो यन्त्र खोजी गरिराछु । रूढीवादीलाई अस्वीकार गरे पनि जिन्दगी जिउने बनाउनुछ ।।

चापागाईंका माथिका मुक्तकका हरफले चाडपर्वमा खेलिने जुवातासले समाजमा विकृति र विसङ्गति सिर्जना गरेको देखाउन खोजेको छ । पुराना रूढीवादीलाई त्यागेर तडकभडक बिना चाडपर्व मनाउन तथा जुवातासका नाममा विभिन्न विकृति बढ्दै गरेको हुँदा जुवातास खेल्ने कार्य रोक्न व्यङ्ग्यात्मक शैलीमा मुक्तकमार्फत सकारात्मक सन्देश प्रवाह गरेको श्रष्टा चापागाईं बताउनुहुन्छ ।

“समाजमा चाडपर्वका नाममा जुवातास खेलेर विकृति बढिरहेको छ, यसले बालबालिकामा नराम्रो असर पुगेको छ, अर्कोतर्फ धेरै खर्च गरेर चाडबाड मनाउने क्रम बढेको छ, यसले हुनेलाई असर नपार्ला तर हुँदा खानेलाई प्रत्यक्ष असर पारेको हँुदा जे छ त्यसमै रमाएर चाडपर्व मनाउँन सिकौँ” उहाँले भन्नुभयो । नेपाली साहित्य विधाअन्तर्गत विशेषगरी मुक्तकमा रुचि राख्ने चापागाईं मुक्तकको कृति निकाल्ने तयारीमा हुनुहुन्छ ।

तिहारको सन्दर्भ पारेर पाल्पाको रामपुरमा भएको रचनावाचन कार्यक्रममा मुक्तकका शब्दले तिहारको रौनकता बढाएको छ । रचनावाचन कार्यक्रमका सहभागीले तिहार विशेष मुक्तक प्रस्तुत गरेका छन् ।

परदेशीको जिन्दगी नै कैदी कारागार भयो । खाडी छिरे न दशैँ न तिहार भयो ।। आमा बुबा रुँदैछन् अनि दिदीबहिनी टोलाएर । भन्दैछन् बाबु तिम्रो यसपालि नि खाली निधार भयो ।।

मुक्तककार समीर पौडेलको यो मुक्तकले विदेशी भूमि तथा घरदेखि टाढा रहेका नेपालीलाई झक्झक्याइदिएको छ । परदेशको जीवन कैदीको जीवनसँग मुक्तककार पौडेलले तुलना गर्नुभएको छ । उहाँका मुक्तकले दाजुभाइ परदेशमा रहनु, घरमा रहेका दिदीबहिनीले भाइटीकामा टीका लगाउन नपाउँदाको पीडा दर्शाएको छ । यस्ता समस्या धेरै नेपालीका छन् ।

संस्कृतिसँगै जोड्दै साहित्य सिर्जना । जे जस्तो होस् धुलोमैलोमै रमाउँला । हजुरको घरआँगन दैलोमा रमाउँला ।। यसपालि तिहारको रौनकता बढाउँछ । हामी सबै देउसी र भैलोमा रमाउँला ।।

साहित्य श्रष्टा नारायण समर्पणको माथिका मुक्तकका शब्दले संस्कृतिलाई जोडेको छ । नेपालीको महान् चाडमध्येको तिहारअर्थात् भाइटीका नजिकिँदै गर्दा जे जस्तो परिस्थितिमा रहे पनि चाडपर्व खुशीका साथ मनाउनुपर्ने समपर्णको भनाइ छ ।

कतिपयलाई विदेशिनुपर्ने रहर होइन बाध्यता पनि छ । स्वदेशमा जागीर नहुँदा पनि विदेशकै भर पर्नुपर्ने अवस्था छ । विदेशको जिन्दगी वर्ष दिनमा एक पटक आउने चाडमा परिवार, आफन्त सबै सँगै मनाउन नपाउँदाको पीडा पनि उत्तिकै छ । परिवारका सदस्यलाई पनि परदेशी भूमिमा रहेका सन्ततीको यादले चाडपर्वमा बढी सताउने गर्छ ।

भाइटीकामा तिनै परदेशमा रहेका भाइलाई सम्झेर साहित्यकार स्वप्निल निरभ मुक्तकमार्फत यसरी लेख्नुहुन्छ,

तिहार आउँछ जान्छ हरेक वर्ष तिमी आउँदैनौ । खै किन हो लिएर खुसी र हर्ष तिमी आउँदैनौ ।। घर भन्नु प्रेम र अस्तित्वको भरपर्दो खम्बा हो भन्थ्यौँ । भाइ मात्र पठाउँछाँै घर खर्च तिमी आउँदैनौ ।।

परदेशमा भएको भाइलाई दिदीले सम्झिँदै खाली निधार तिहारलाई बिदाइ गर्न विवश छन् । साहित्यकार तथा मुक्तकमञ्च रामपुरका अध्यक्ष निरभ माथिका मुक्तकका हरफले परदेशमा भएको भाइलाई धेरै दिदीले सम्झेर बस्दाको पीडाको क्षण नमिठो हुने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “चाडपर्वले घरपरिवार, आफन्तको माया र प्रेम, सम्झना अधिक बढाउँछ, ठूला ठूला चाडमा सँगै बसेर रमाइलो गरी मनाउन नपाउँदाका पीडा कयौँ नेपालीका छन्, मुक्तकमार्फत समाजका वास्तविक कुरालाई बाहिर ल्याउने कोसिस गरेका छौँ” । रामपुर नगरपालिका क्षेत्रमा पछिल्लो समय साहित्य सिर्जना संरक्षणमा युवापुस्ता लागिपरेका छन् । यस क्षेत्रमा करिब तीन दर्जन जति मुक्तक स्रष्टा छन् ।

अहिले साङ्गठनिकरूपमा साहित्य सिर्जना संरक्षणमा यहाँका युवा जुटेका छन् । यसरी समय सन्दर्भ र पर्व विशेषलाई जोडेर साहित्य रचनामार्फत समाजका बेथिति र विसङ्गतिबारे युवाले खबरदारी गरिरहेका छन् ।