गर्भवती महिलाको हवाई उद्धार


यहाँस्थित जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेपछि पूर्वीचौकी गाउँपालिका–५ का २० वर्षीया सम्झना विकको हवाई उद्धार गरिएको छ । सुत्केरी हुनेक्रममा उच्च रक्तश्राव भएका कारण उनीलाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाले जानकारी दिनुभयो । विकलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो पटक सुत्केरीको हवाइ उद्धार गरिएको बताइएको छ ।

यो पनि – डेढ अर्बको लगानीमा अस्पताल

मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो । अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार भवन तथा सहरी विकास मन्त्रालयबाट अनुमति लिएर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार साततले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । दुई सय जना शेयर धनी रहेको यस अस्पतालको संस्थागत शेयर धनीका रुपमा श्री मेडिकल एण्ड टेक्निकल कलेज रहेको छ । अधिकारीका अनुसार १०० शय्या सञ्चालनमा आउँदै गर्दा यसको लगानी रु एक अर्ब ५० करोड पुग्ने छ । उहाँले भन्नुभयो, “जिल्लामा उत्कृष्ट, सुविधा सम्पन्न अस्पताल हाम्रो हुने छ ।”

अस्पतालका सञ्चालक एवं श्री मेडिकल एण्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालका अनुसार भवनमा २०० शय्यासम्म सञ्चालन गर्न सक्ने गरी निर्माण गरिएको छ । उहाँका अनुसार अत्याधुनिक र आधुनिक प्रविधिका उपकरण भित्र्याइँदै छ । कतिपय उपकरण आइसकेका छन् भने कतिपय आउने क्रममा रहेको छ । मेडिकल कलेजपछिको ठूलो लगानीको अस्पतालको रुपमा यसलाई विकास गर्न लागिएको छ ।

अस्पतालका अर्का सञ्चालक कल्याण जोशीका अनुसार १३ वर्षअघि रु पाँच करोडको लागतमा नारायणगढमा स्थापना गरिएको यस अस्पताल हाल भरतपुरको चौबिसकोठीमा रहेको छ । करिब १२ कट्ठा जग्गा खरिद गरेर अस्पतालको स्तरोन्नति गरिएको हो । अस्पतालमा विशिष्टिकृतसहित सबै सेवा उपलव्ध गराइने उहाँको भनाइ छ । अस्पतालले जग्गा आफैँले खरिद गरी स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसारको भवन निर्माण र आधुनिक उपकरण जडान गर्न लागेकाले लगानी ठूलो भएको जोशीले जानकारी दिनुभयो । कतिपय उपकरण मेडिकल कलेजमा समेत नभएका आधुनिक उपकरण राखेर सेवा दिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस