हिमालयन हाइड्रो एक्स्पो सुरु : ऊर्जा विकासमा निजी क्षेत्रको योगदान महत्वपुर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई


काठमाडौं, १९ चैत्र । हिमालयन हाइड्रो एक्स्पो शनिबारदेखि राजधानीमा सुरु भएको छ । एक समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले हिमालयन हाइड्रो एक्सपोको उद्घाटन गरेकी हुन् ।

एक्स्पो उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उर्जा उत्पादन सुरु भएको शतक बित्दासम्मको अवस्थामा उर्जा क्षेत्रमा भएको विकास अपेक्षित रुपमा हुन नसकेको बताइन् । यद्यपी उर्जा क्षेत्रमा यो समयमा भएको विकासमा निजी क्षेत्रले पुर्याएको योगदान महत्वपुर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई थियो ।

पछिल्ला वर्षहरुमा उर्जा उत्पादनमा आएको बढोत्तरी प्रंशसनीय रहेको बताउँदै राष्ट्रपति भण्डारीले उर्जाको आन्तरिक खपत बढाउँदै निर्यातको अवस्थामा पुग्न लागेको भन्दै खुसी व्यक्त गरिन् । समृद्ध नेपाल र सुखी नेपालीको सङकल्प पुरा हुनु पर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले जलस्रोतको बहुआयामिक उपयोगमा जोड दिइन् ।

देशका विभिन्न स्थानमा अझै पनि बिजुलीको पहुँच नपुगेको भन्दै राष्ट्रपति भण्डारीले यसमा सम्बद्ध सबै पक्षले चासो दिनु पर्ने बताइन् । जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा हिउँको तह पातलिँदै जाँदा त्यसको नकरात्मक असर पर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै हरियाली प्रवद्र्धनमा लाग्न आग्रह गरिन् ।
सीमापार प्रसारण लाइनमार्फत नेपालको बिजुली विदेशी बजारमा निर्यात हुन लागेको भन्दै राष्ट्रपति भण्डारीले खुसी व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस