श्री पशुपतिनाथ मन्दिर


शिवका अनेकौ नामहरु मध्ये पशुपति पनि एक हो । ब्रह्माण्ड, चराचर जगतका प्राणीहरुको कल्याण गर्नुहुने भगवान शिव समस्त हिन्दुहरुका आराध्यदेव हुनुहुन्छ । पशुपतिनाथको परम अनुकम्पाले आयु, आरोग्य बृद्वि हुन्छ । पापकर्म गर्नेहरुको पापको क्षय गराउँदै धर्मभीरुहरुको उन्नति, प्रगति र सम्बृद्वि गराउन भगवानका वरद् हस्त सदा सर्वत्र फैलिरहेका छन् ।

अनादि कालदेखि नेपाल राष्ट्रको राजधानी काठमाडौँको अति पबित्र वाग्मती तटमा रहेको महाज्योतिर्लिङ्गि, ब्रह्माण्डकै अनुपम, अपरिमेय शिवस्वरुप शिवलिङ्ग हो । यो शिवलिङ्गका अनेकानेक रुप द्वादशज्योतिर्लिङ्गिको रुपमा भारतवर्षमा विराजित छन् । पवित्र विष्णुदेवी क्षेत्र काठमाडौँमै रहेको छ । विष्णुदेवी क्षेत्रबाट बहने पुण्यसलीला वाग्मती तटमा पवित्र श्लेषमान्तक वन पर्दछ । यो पौराणिक एवं ऐताहासिक वन हो ।

पशुपतिनाथको मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । यहाँका सबै पुरातात्विक एवं धार्मिक विशेषताहरु प्यागोडा शैली अनुरुप रहेका पाइन्छन् । मन्दिरको दुई तले छाना सुनको मोलम्बासहित तामाको रहेको छ । यस मन्दिरमा रहेका चार मुख्य ढोकाहरु चाँदीका रहेका छन् । यस मन्दिरमा रहेको सुनको गजुर धार्मिक एवं आध्यात्मिक उच्च बिचारको प्रतीक हो । यस मन्दिरको पश्चिम ढोकामा रहेको ठूलो नन्दीको मूर्ति कासको रहेको छ । यहाँ रहेको ज्योतिर्लिङ्ग ६ फिट अग्लो छ । पशुपतिनाथको पूर्वमा वासुकीनाथ मन्दिर रहेको छ ।

पौराणिक कथानुसार महाभारतको युद्घपछि पाण्डवहरुले भगवान कृष्ण र भिष्मसँग युद्घमा आफूले आफन्तहरुको हत्या गरेकाले गोत्रहत्याको पापबाट मुक्त हुनका लागि के उपाय गर्नु पर्ला भनेर सोधेका थिए । भगवान शिवको दर्शन गरेपछि गोत्रहत्याको पापबाट मुक्त होइन्छ भन्ने कुरा कृष्णले बताएपछि पाण्डवहरु शिवजीको दर्शन गर्न हिमालयमा गए । पाण्डवहरु आएको देखेर शिव भैँसीको रुप लिई भैँसीको बथानमा लुकेका थिए । पाण्डवहरुले भैँसीरुपी भगवान शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैँसीरुपी शिव जमिनभित्र अलप भएका थिए । यसरी शिव जमिनमा धसिंदा भैँसीरुपी शिवको पुच्छर पाण्डवले समात्दा केदारनाथमा केदारनाथ भगवान प्रकट भएका थिए । भैँसीरुपी शिवको शिर नेपालमा रह्यो । नेपालको वाग्मती तटमा पशुपतिको रुपबाट शिव प्रकट भए । यसरी पाण्डवहरुले पशुरुपी शिवको पुच्छर स्पर्श गरेर गोत्रहत्याको पापबाट मुक्त भएका थिए । पशुको रुप लिएर प्रकट भएको हुनाले भगवान शिवलाई पशुपतिनाथ भनिएको हो ।

एक अर्को कथा अनुसार भगवान शिवले मृगको रुप लिएर श्लेष्मान्तक वनमा पार्वतीका साथमा विहार गरेका थिए । पछि पार्वतीले तपस्या गरी खोजी हेर्दा नेपालको वाग्मती किनार मृगस्थलीमा शिव मृग रुप रहेर विहार गरेको थाहा पाएपछि ब्रह्मा, विष्णु र इन्द« तीनै जनाले खोजी गर्दा वाग्मती पारिपट्टी शिवलाई भेटी समात्न खोज्दा मृगवर्ण शिवको सिङ् तीन टुक्रा भएको प्रसङ्गले समेत शिवलाई पशुहरुका मालिक पशुपतिनाथ भनि सम्बोधन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस