स्थानीय तह हाक्दै युवा विद्यार्थी

स्थानीय तह हाक्दै युवा विद्यार्थी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाउन थालेको पाइएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेकाहरू देखिएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् ।

राजनीतिमा युवा तथा विद्यार्थीको सक्रिय सहभागिता बढ्दै गएको समेत यसले देखाउँछ । राजनीतिक दलले क्रमशः आफ्नो समितिभित्र युवा तथा विद्यार्थीलाई सक्रिय रुपमा सहभागी गराइरहेका छन् ।

यसै क्रममा दार्चुलाको अपी हिमाल गाउँपालिकाको अध्यक्षमा विजयी भगतसिंह ठेकरे बोहोरा निर्वाचित हुनुभएको छ । आज सम्पन्न भएको मत गणानामा बोहोरोले दुई हजार ३०४ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

बोहोरा अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो । क्रान्तिकारीका महासचिव दीपेश पुनका अनुसार सो सङ्गठनका विभिन्न नेताहरू स्थानीय तहको निर्वाचनमा विजयी भएका छन् ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–१ को अध्यक्षमा सत्तारूढ गठबन्धनको साझा उम्मेदवारका रुपमा रहनुभएका माओवादी केन्द्रका वडाध्यक्षमा उम्मेदवार घनश्याम खरेल निर्वाचित हुनुभएको छ ।

खरेल अखिल (क्रान्तिकारी)का लुीम्बनी प्रदेश अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । सो गाउँपालिकामा सत्तारूढ गठबन्धनले वडा तहसम्म नै तालमेल गरेको थियो । सत्तारूढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा रहनुभएका खरेलले ५५२ मतसहित विजयी हुनुभएको हो । सो वडामा कूल ८०० मत खसेको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गोविन्दबहादुर बलालले १८५ मत मात्रै प्राप्त गर्नुभएको थियो ।

यस्तै सोही सङ्गठनका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गर्नुभएका तारा भण्डारी धादिङको गजुरी–१ को अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो समयसम्म अखिल (क्रान्तिकारी)को केन्द्रीय नेतृत्वमा रहनुभएका भण्डारी पछिल्ला दिनमा भने गजुरीमा फर्केर पार्टी राजनीतिमा सक्रिय हुनुभएको थियो ।

नेपालको संविधान जारी भएपछि भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भण्डारीले ६८८ मत ल्याउँदै वडाध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर बर्तौलाले ६२६ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै माओवादी केन्द्रको विद्यार्थी सङ्गठन क्रान्तिकारीका केन्द्रीय सदस्य रामचन्द्र रोकाया बझाङको मस्टा गाउँपालिका–१ वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ । सो गाउँपालिकाको मत गणना जारी छ ।

यस्तै, अन्य स्थानीय तहमा समेत युवा विद्यार्थीको सक्रिय सहभागिता छ ।

यस्तै, दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा विजयी छवि सुवेदी पनि पूर्वविद्यार्थी नै हुनुहुन्छ । सुवेदीले नेपाली कांग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई ८०० मतान्तरले पराजित गर्नुभएको हो । सुवेदीले तीन हजार २०० मत प्राप्त गर्नुभयो ।

अध्यक्षमा विजयी हुनुभएका सुवेदी हाल माओवादी केन्द्र निकट बुद्धिजीवी सङ्गठनको कर्णाली प्रदेश अध्यक्षसमेत हुनुहुन्छ । एमबिबिएसको अन्तिम वर्षको तयारी चल्दै गर्दा माओवादी युद्धमा होमिनुभएका सुवेदी निकै सादगी व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।

विजयी भएपछि सुवेदीले छोटो प्रतिक्रिया दिनुहुँदै गाउँपालिकाभित्र स्रोत र साधनले भ्याएसम्म स्थानीयवासीको हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफूहरूलाई विजयी गराउने सबै मतदातालाई धन्यवादसमेत दिनुभएको छ ।रासस