धरानमा मेयरहर्क साम्पाङ झाडु बोकेर भानुचौक पुगेपछि …


इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बिहीबार हातमा झाडु बोकेर भानुचोकमा पुग्दा आम मानिस आश्चर्यचकित भए ।

उनले बुधबार नै सामाजिक सन्जालमार्फत बिहीबार भानुचौक सफाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका थिए । उनका समर्थकहरूका साथै सेवक अभियानको टोली पनि सफाई कार्यक्रममा सहभागी भएका छन् । वर्षाको कारण केही ढिलाई भएको सफाई अभियानमा मेयर साम्पाङ आफैं झाडु लिएर पुगेपछि अचम्मित हुँदै हेर्नेहरूको पनि भीड लाग्यो ।

मेयर साम्पाङले आफ्नो घर, आँगन र सडक सफा राख्न सचेतना जगाउनको लागि आफैं सरसफाई अभियानमा आएको बताए । आफूबाट निस्कने फोहोर आफैं व्यवस्थापन गर्ने बानी बसाल्न अनुरोध गर्दै आफू झाडु बोकेर आएको पनि मेयर साम्पाङले बताए ।

उनले भने, ‘मेरो लक्ष्य अबको ६ महिनामा धरानलाई देशकै सफा सहर घोषणा गर्नुपर्छ भन्ने छ । यसमा म एक्लैले पूरा गर्दिन, सबैको साथ सहयोग चाहिन्छ । मेरो अनुरोध छ, अब उप्रान्त सडकमा केही पनि फोहोर नफालौं ।’
rajdhani daily

प्रतिक्रिया दिनुहोस