भक्तपुरका कलाकारले सम्झिए अरुण थापा

भक्तपुरका कलाकारले सम्झिए अरुण थापा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । भक्तपुरका गायक, गायिका एवं संगीतकारहरुले शनिवार नेपाली सुगम आधुनिक संगीतका एक अमर गायक तथा संगीतकार अरुण थापालाई सम्झिएका छन् ।

स्व. थापाको २३औं स्मृति दिवसको अवसरमा भक्तपुर सांगीतिक समाजले आयोजना गरेको ‘पाँचौं अरुण थापा साँझ’मार्फत भक्तपुरका गायक, गायिका एवं संगीतकारहरुले स्व. थापालाई सम्झिएका हुन् ।

देश प्रेमको भावनाले ओतप्रोत ‘करोडौं मुटुहरूको एउटै ढुकढुकी नेपाल’ बोलको गीतबाट शुरु भएको कार्यक्रममा भक्तपुरका स्थानीय कलाकारहरु सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेललगायतले स्व थापाको स्वरमा रहेको ‘लाग्न थाल्यो जीवनमा’, ‘आँखाको निद चोरी लाने’, ‘भुलेका कथा तिता मिठा’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘चोट के हो व्यथा के हो’, ‘जतिमाया लाए पनि’, ‘पग्लेर जाने हिउँ म हैन’ ‘म रोए पनि तिमी हाँसिदिनु’ लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।

गायक गायिकाहरुलाई वाद्यवादनमा स्थानीय वाद्यवादकहरु कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज के.सी., श्रीजल मधिकर्मी, अनिश शाक्य, बिजय बज्राचार्य र यजु आचार्यले साथ दिएका थिए । सो अवसरमा आयोजक भक्तपुर सांगीतिक समाजले कवि तथा गीतकार दिनेश अधिकारीलाई ‘अरुण थापा स्मृति सम्मान २०७९’ ले सम्मान गरेको थियो । साथै भर्खरै सम्पन्न ‘सा रे ग म प लिटिल च्याम्प’मा राम्रो प्रतिभा देखाएका भक्तपुरका बाल प्रतिभा अबिज्ञा घिमिरेलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ संगीतकार दीपक जङ्गमले नेपालमा मरे पछि सम्मान दिने र खोजी–खोजी कलाकारका कृतिप्रती चासो बढाउने गलत परम्परा रहेको र अरुण थापा त्यस्को सही उदाहरण भएको बताए । उनले नेपालमा जनता र सरकारबाट अझ पनि कलाकारको सही पहिचान गर्न नसकेको गुनासो समेत पोखे ।

कोरोना महामारीका कारण विगत दुई वर्ष कार्यक्रमलाई औपचारिकतामा सीमित गरिएको तर यस वर्ष बृहत रुपमै कार्यक्रम सम्पन्न गर्ने लक्ष्य अनुसार भक्तपुर शहरको प्रवेश मार्ग सल्लाघारीमा अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल सल्लाघारीको प्राङ्गणमा सम्पन्न भएको हो ।