सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य : आयुक्त डा. तुलाधर

सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य : आयुक्त डा. तुलाधर

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, कात्तिक १५ गते । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आयुक्त तुलाधरले सो कुरा बताउनुभएको हो ।

उहाँले मतदानमा खसेको मत बदर नहोस् भन्ने आयोगको लक्ष्यमा सघाउन समुदायस्तरमा मतदातालाई सही सूचना दिएर सुसूचित मतदाता तयार गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

आयुक्त डा. तुलाधरले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउन आयोग लागिरहेको बताउनुहुँदै निर्वाचन आचारसंहिताको अनुगमन र पालनामा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

उहाँले निर्वाचनको सञ्चालन, व्यवस्थापन, नियन्त्रण र रेखदेखका लागि संविधानले दिएको जिम्मेवारी पूरा गर्न आयोग कटिबद्ध रहेको र आचारसंहितामा पहिलो पटक मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई परिभाषित गरी त्यसलाई नियमनको व्यवस्था गरिएको बताउनुभयो ।

आयोगका सूचना र गतिविधिबारे आममतदाता र सञ्चारमाध्यमको सहज पहुँचका लागि आयोगले प्रेस अफिसको सञ्चालन, निर्वाचन इ–बुलेटिनको सञ्चालन र टोल फ्री नम्बर ११०२ बाट कल सेन्टरको सञ्चालन भइरहेकाले त्यसबाट लाभ लिन पनि उहाँले आग्रह गर्नुभयो ।

मिडियाको भूमिका स्थानीय तहको निर्वाचनमा सशक्त रहेको आफूहरूले पाएको उल्लेख गर्नुहुँदै आयुक्त तुलाधरले भन्नुभयो, ‘‘निर्वाचन आचारसंहिताको कार्यान्वयनमा आयोग कडाइका साथ प्रस्तुत भएको छ । निर्वाचनका लागि अब १९ दिन मात्र बाँकी रहेको अवस्थामा कात्तिक १७ गतेदेखिको निर्वाचन प्रचारप्रसार अझै पेचिलो हुने देखिन्छ । यस सन्दर्भमा सञ्चार र सबै क्षेत्रको सहयोगविना निर्वाचन सम्पन्न गराउन कठिन हुनेछ ।’’

आयोगले सबै गतिविधि संविधान, ऐन, निर्देशिका र कार्यविधिअनुसार गरिरहेको अवगत गराउँदै उहाँले सम्बन्धित पक्षसँगको समन्वय र सहकार्यमा जोड दिइएको स्पष्ट पार्नुभयो ।

उहाँले सञ्चारकर्मीप्रति आयोगको ठूलो विश्वास रहेकाले आयोगले आचारसंहिताको अनुगमनलगायतका संरचनामा सञ्चार क्षेत्रको प्रतिनिधित्वलाई अभिन्न अङ्गका रूपमा व्यवस्था गरेको र यस प्रकारको मिडिया अभिमुखीकरण ७७ वटै जिल्लामा सञ्चालन गरी मतदाता जागरण र आचारसंहिताबारे स्पष्ट जानकारी दिइएको बताउनुभयो ।

सुर्खेतका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेका कार्यक्रमको दोस्रो सत्रमा आयोगका तर्फबाट सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेल र राष्ट्रिय समाचार समिति (रासस) का तर्फबाट महाप्रबन्धक सिद्धराज राईले प्रस्तुतीकरण गर्नुभएको छ ।