मलेसियामा बन्धक बनाइएका १३ नेपाली स्वदेश फर्किँदै


काठमाडौं । मलेसियामा बन्धक बनाइएका १३ जना नेपालीको उद्धार भएको छ । उद्धार भएकामध्ये छ जना भोलि (मङ्गलबार) स्वदेश फर्किने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझी तत्काल रिहाइ तथा उद्धारको पहल गर्न मुख्यसचिव शङ्करदास बैरागीलाई निर्देशन दिनुभएको प्रधानमन्त्रको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले सो निर्देशन दिनुभएको उहाँले बताउनुभयो ।

सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो । बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्धारका लागि पहलपछि मलेसियाको PRS Forest Management (पिआरएस फरेष्ट म्यानेजमेन्ट) कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन् ।

मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार हाल उक्त कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ ।

दूतावासको पहलमा उनीहरुमध्ये छ जना मङ्गलबार र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका छन् । यसैगरी, मलेसियाकाे एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकको समस्या हल गर्नसमेत पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस