मोबाइल नेटवर्क नहुँदा समेत मेसेज पठाउन सकिने स्मार्टफोन ल्याउँदै मोटोरोला


काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी मोटोरोलाले स्याटलाइटमा आधारित मेसेजिङ सहितको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । सन् २०२३ को पहिलो चौमासिक भित्र बजारमा उपलब्ध गराउने योजनाका साथ कम्पनीले हाल उक्त स्मार्टफोनमा काम गरिरहेको जनाइएको छ ।

डेफी रग्ड नाम दिइएको यो स्मार्टफोनमा स्याटलाइटमा आधारित मेसेजिङ सिस्टम उपलब्ध हुनेछ । यसका लागि कम्पनीले पेटेन्ट समेत लिई सकेको उल्लेख छ ।

यसअघि यो फिचर एप्पलले आईफोन १४ र आईफोन १४ प्रोमा उपलब्ध गराइसकेको छ । जसमार्फत प्रयोगकर्ताले आपतकालीन समयमा सेलुलर नेटवर्क नहुँदाको अवस्थामा समेत कल तथा एसओएस मेसेज पठाउन सक्छन् ।

तर, एन्ड्रोइडमा भने हालसम्म यो फिचर उपलब्ध भइसकेको छैन । यस्तोमा मोटोरोलाले नयाँ स्मार्टफोनमार्फत ग्राहकलाई यो फिचर उपलब्ध गराउन लागेको हो ।

एन्ड्रोइड अथोरिटीका अनुसार मोटोरोलाले ल्याउने यो फिचरमा प्रयोगकर्ताले सेलुलर नेटर्वक तथा वाईफाई कनेक्सन नहुँदा समेत मेसेज पठाउन र पाउन सक्नेछन् । साथै सेलुलर तथा वाईफाई नेटवर्क बिना नै मोबाइलबाट आफ्नो लोकेसन समेत शेयर गर्न सकिनेछ ।

यो फिचर कम्पनीको आगामी स्मार्टफोन डेफी रग्ड फाइभजी स्मार्टफोनमा उपलब्ध हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ । यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले फ्रि बुलिट स्याटलाइट मेसेजिङ एप इन्स्टल गर्नुपर्ने छ ।

सुरुवाती चरणमा यसले टेक्स्ट र इमोजीमात्रै सपोर्ट गर्ने उल्लेख छ । कम्पनीका अनुसार फोनमा क्रमशः फोटो, भिडिओ, अडियो समेत सपोर्ट गर्ने सिस्टम उपलब्ध गराउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस