लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त


बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थन सहित दाबी प्रस्तुत गर्नुभएका गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

गिरि लुम्बिनी प्रदेशको तेश्रो मुख्यमन्त्री बन्नुभएको हो । यसअघि नेकपा एमालेबाट लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्रीको रुपमा शंकर पोखरेल र दोश्रो मुख्यमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी बन्नुभएको थियो ।

नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले आज नयाँ सरकारका लागि दाबी पेस गर्नुभएको छ । सत्ता साझेदार दलका नेताहरु आज दिउँसो लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालय बुटवल जानुभएको थियो ।

सत्ता साझेदार दलहरुले सात दलको समर्थमान ५८ सांसदको हस्ताक्षर सहित लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका थिए ।

मुख्यमन्त्री गिरीको जन्म विक्रम सम्बत् २०११ साल चैत १४ गते गुल्मी जिल्लाको रुरु गाउँपालिका–५ मा भएको हो । उहाँ अहिले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. १ मा स्थायी बसोबास गर्दै आउनुभएको छ । उहाँले स्नातकसम्मको अध्ययन गर्नुभएको छ ।

मुख्यमन्त्रीले भारत, चीन, जापान, अमेरिका र कोलम्बियाको भ्रमण गर्नुभएको छ । यसअघिको लुम्बिनी प्रदेश सरकारमा गिरी उद्योग, वन, पर्यटन, वातावरण मन्त्री हुनुहुन्थ्यो । उहाँले केही समय लुम्बिनी प्रदेश सरकारमै आन्तरिक मामिला तथा कानुन मन्त्री र स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी बहन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस