ह्युगो लोरिसद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास


काठमाडौं । फिफा विश्वकप उपविजेता फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यासको घोषणा गर्नुभएको छ । विश्वकप सकिएपछि सन्यास लिने योजना बनाउनुभएका लोरिसले तीन सातापछि सन्यासको घोषणा गर्नुभएको हो ।

फ्रान्स विश्वकपको फाइनलमा अर्जेन्टिनासँग टाईब्रेकरमा ४–२ गोलले पराजित भएको थियो । ३६ वर्षीय लोरिसको कप्तानीमा फ्रान्सले सन् २०१८ को विश्वकप उपाधि जितेको थियो । फ्रान्स राष्ट्रिय टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आफ्नो सम्झौता सन् २०२६ को जुनसम्म लम्ब्याएपछि लोरिसले सन्यास लिएको घोषणा गर्नुभएको हो ।

‘‘मैले फुटबलमा सबै दिएको महसुस गरेको छु । त्यसैले आज अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने निर्णय गरेको हुँ । यो घोषणा गर्नु अहिले उपयुक्त हुने ठानेको छु । अब युरोकप छनोट आउँदैछ,’’ लोरिसले भन्नुभयो ।

सन् २००८ मा उरुग्वेविरुद्ध खेल्दै फ्रान्सको टोलीमा डेब्यु गर्नुभएका लोरिसले देशका लागि एक सय ४५ खेल खेल्नुभएको छ । जसमा उहाँले एक सय २१ खेलमा कप्तानी गर्नुभएको छ । लोरिस इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामबाट व्यावसायिक फुटबल खेल्दै आउनुभएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस