कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त


सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्मा नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी गर्न दलहरुलाई आह्वान गर्नु भएको थियो ।

सोही बमोजिम नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी)लगायतका पार्टीको समर्थनमा शर्माले मुख्यमन्त्रीको दाबी पेश गर्नुभएको थियो ।

कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका एक र नेकपा एसका एक जना सांसद रहेका छन् । कुल ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सिट आवश्यक हुन्छ । जसअनुसार माओवादी, एमाले, राप्रपा र समाजवादी गरी २५ सांसदको समर्थन रहेको छ । राप्रपाले एक मन्त्रालय दाबीसहित मुख्यमन्त्री समर्थन गरेको जनाइएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति अनुसार एमालेले शर्मालाई मुख्यमन्त्रीका लागि समर्थन गरेको हो ।

प्रतिक्रिया दिनुहोस