म्यानचेस्टर युनाइटेड र न्युकासल काराबाओ कपको सेमिफाइनलमा


काठमाडौं । म्यानचेस्टर युनाइटेड र न्युकासल युनाईटेड इएफएल कप अर्थात काराबाओ कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार राति भएका खेलमा युनाइटेडले चार्लटन एथ्लेटिकलाई ३–० ले तथा न्युकासलले लेस्टर सिटीलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

आफ्नै मैदानमा भएको क्वाटरफाइनल खेलमा युनाइटेडको लागि मार्कस रास्फोर्डले दुई तथा एन्टोनीले एक गोल गरे ।

खेलको २१ औं मिनेटमा ब्राजिलियन खेलाडी एन्टोनीले युनाइटेडका लागि सुरुवाती गोल गरेका थिए । ९० औं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाइटेडलाई दोब्बर अग्रता दिलाए । त्यसपछि इन्जुरी समयमा रास्फोर्डले ब्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई ३–० को जित दिलाए ।

काराबाओ कपकै अर्को क्वाटरफाइनल खेलमा लेस्टर सिटीलाई २–० ले हराउँदै न्युकासल युनाइटेड पनि सेमिफाइनलमा पुगेको छ ।

न्युकासललाई विजयी गराउन ड्यान बर्न र जोएलिन्टनले एक एक गोल गरे ।

काराबाओ कप फुटबलमा बुधबार राति साउथह्याम्पटन र म्यान्चेस्टर सिटी तथा नटिङ्घम फरेष्ट र वुल्भरह्याम्पटन वान्डरर्स भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस