नेकपा एमालेका राजेन्द्रसिंह रावल सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त


काठमाडौं । नेकपा एमालेका राजेन्द्रसिंह रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाको एक गरी २९ जना सांसदको समर्थन पाएका रावललाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आज बुधवार बिहानै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरिएको भए पनि एमाले नेतृत्वको सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइसहितका मुद्दा सम्बोधन गरेको अवस्थामा मात्र सरकारलाई समर्थन गर्ने अडान लिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनपछि अन्तिम अवस्थामा नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको हो ।

प्रतिक्रिया दिनुहोस